बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल

रिता घिसिंग

ढाका, १६ कात्तिक : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु भएको छलफल राती ११ बजे सकिएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री हसिना नेतृत्वको पार्टी बङ्गलादेश अवामी लिग (एएल) ले प्रमुख विपक्षी दलको गठबन्धनलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनल पार्टी (बिएनपी)ले गत अक्टोबर महिनाको शुरुमा “जातीय ओइक्या फ्रन्ट (युनाइटेड नेसनल फ्रन्ट)” गठबन्धन बनाएको थियो ।

गठबन्धनको नेतृत्व भने पूर्व विदेशमन्त्री तथा प्रतिष्ठित कानुन व्यवसायी कमाल हुसेनले गर्नुभएको छ । उहाँ स्वतन्त्र बङ्गलादेशको संविधानका मस्यौदाकार समेत हुनुहुन्छ । उहाँले आगामी संसदीय निर्वाचनका लागि गैरदलीय सरकार निर्माण गर्न र बीएनपीका अध्यक्ष जिया समेतका सबै राजनीतिक बन्दीहरु रिहा गर्न माग गरिरहनुभएको छ ।

बीएनपीका अध्यक्ष जिया भने गत फेब्रुअरीदेखि भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्छ ।

प्रधानमन्त्रीसँगको वार्तामा सहभागी हुनुभएका बीएनपीका प्रवक्ता मिर्जा फख्रुल इस्लाम अलामगिरले वार्ता उपलब्धीमूलक र सकारात्मक हुन नसकेको जानकारी दिनुभयो ।
–रासस

प्रतिक्रिया