बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम नहुने

राष्ट्रिय समाचार समिति

काठमाडौं, ७ असोज : काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ ।

यसअघि फोहर व्यवस्थापन स्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल त्यो ठाउँमा फोहर व्यवस्थापनको काम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ ।

विभागले गएको भदौको तेस्रो हप्ता त्यो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहर व्यवस्थापन गर्न सक्ने बताएको थियो । महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले त्यो ठाउँमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ । दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्यवस्थापनको काम सुरु गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै पालिकाबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ ।

उनले भने, हामीले गर्ने काम सकेका छौँ, स्थानीयवासीसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा पालिकाकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दोस्रो सेल निर्माण सक्ने हो । विभागका अनुसार नियमितरूपमा काम गर्न पाए आउँदो ६ महिनाभित्र दोस्रो सेल र त्यही ठाउँमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्यान्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गएको वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन ।

बञ्चरेडाँडा पहिलो सेल निर्माणको काम पूरा नभएको र सिसडोलमा पुनः फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कामपासहित अरू पालिकाको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको जनाइएको छ । समन्वयविना फोहरका गाडी बञ्चरेडाँडा जाँदा स्थानीयवासीले अवरोध गर्ने भन्दै स्थानीयवासी र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरूपमा फोहर व्यवस्थापनमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।

गएको भदौ १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाका पालिकाको फोहर भदौ तेस्रो हप्तादेखि उठ्न थालेको थियो । यसरी वर्षमा समय-समयमा फोहर नउठ्ने समस्या हरेक वर्ष नै उपत्यकावासीले भोग्दै आएका छन् । सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्यान्डफिल साइट निर्माण गरिएको थियो । पटक-पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ ।

यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहर लग्ने गरिएको छ । अहिले फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण भइरहेको हो । निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । अहिले उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये झन्डै ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया