बढी मूल्यमा जारको पानी बिक्री गर्नेलाई कारबाही

admin

काठमाडौं, २५ असोज : सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानै मूल्यमा बिक्री गर्न उद्योगी र व्यवसायीलाई निर्देशन दिएको बताएका छन् ।

केही दिनयता काठमाडौं उपत्यकामा प्रति जारको पानीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढी लिने गरिएको छ । उद्योगी र व्यवसायीले भने सरकारले नै जारको पानीको मूल्य बढाएको भन्दै अहिले उपभोक्ताबाट बढी मूल्य लिइरहेका छन् । तर सरकारले अहिलेसम्म जारको पानीको मूल्य नबढाएको महानिर्देशक सुवेदीले बताए ।

अनुगमन र कारबाही नहुँदा व्यवसायीले निर्देशनको अटेरी गर्दै बढी मूल्यमा जारको पानी बेचिरहेका छन् । विभागले सबै ठाउँमा अनुगमनमा पुग्न नसक्ने हुँदा बढी मूल्यमा बिक्री गर्नेविरुद्ध उजुरी गर्न आग्रह गरेको छ । ठगी भएको पाइए ११३७ नम्बरमा फोन गरेर उजुरी दिए ठगी गर्नेलाई कारबाही हुने महानिर्देशक सुवेदीले बताए ।

यस्तै उनले चाडपर्व नजिकिएसँगै बजारमा म्याद गुज्रेका वस्तु बिक्रीका लागि राख्ने गरेको पाइएको भन्दै उपभोक्तालाई सचेत हुन आग्रह गरे । बजार अनुगमनका क्रममा केही व्यापारीले मेसिन नै राखेर रि-लेबलिङ गर्न थालेको पाइएकाले उपभोक्ता आफै पनि सचेत हुनुपर्ने उनको भनाइ छ । उपभोक्ता भने सरकारले नै अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा ठगी बढेको गुनासो गर्छन् ।

प्रतिक्रिया