बढुवाका लागि कीर्ते गर्नेहरूलाई सेनाले कारबाही गर्ने

admin

काठमाडौं, २७ साउन : सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ।

किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ।

जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ। सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ। उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो।

पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति किर्ते गरेको स्रोेतले बताएको छ। दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ। रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ।

उपरथी पाण्डे सेनाको हेटौंडास्थित मध्यपृतनाका पृतनापति छन्। सहायक रथी सिग्देल जंगीअड्डामै कार्यरत छन्। पाण्डेको केही महिनाअघि मात्र उपरथी पदमा बढुवा भएको थियो। उपरथीमा बढुवाका लागि एक नम्बरमा सिग्देलको नाम सिफारिस भएको छ। कार्यसम्पादनमा दुवै जना अब्बल ठहरिए पनि जन्ममितिमा किर्तेपछि पदमा बसिरहन दुवै जनालाई अप्ठेरो परेको छ। जंगीअड्डाले पाण्डे र सिग्देलसहित अन्य उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको स्रोतले बताएको छ।

नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवा अवधिभन्दा बढी सेवा गरेको अभियोगमा प्रमुख सेनानी जीवन थापालाई सैनिक अदालतले बर्खास्त गरेको थियो। नक्कली प्रमाणपत्र बुझाएर सेवा प्रवेश गरेका, नागरिकतामा किर्ते गरी जन्ममिति सच्याएका, बढुवा हुन नक्कली प्रमाणपत्र बुझाएका र उमेर नपुगी सेवा प्रवेश गरेका प्रथम श्रेणी र उच्च तहका अधिकारीमाथि जंगीअड्डाले छानबिन गरिहरेको छ। उपरथीमा बढुवा हुन केहीले नक्कली प्रमाणपत्रसमेत पेस गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार बढुवा हुन नक्कली प्रमाणपत्र बुझाउनेमा साधारण सेवा, विविध सेवा र प्राविधि सेवातर्फका कनिष्ठदेखि वरिष्ठ तहका करिब तीन दर्जन छन्।

प्रहरी र निजामतीतर्फ नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग आयोगले छानबिन गर्दै आएको छ। किर्ते गर्ने सैनिकमाथि भने छानबिन नहुने आशंका थियो। यही बेला प्रधानसेनापति थापाले गम्भीर ढंगले छानबिन गर्न निर्देशन दिएका छन्। जंगीअड्डाले किर्ते गर्ने ११ जनालाई कारबाही गरिसकेको छ।

प्रतिक्रिया