बनेपामा तीन दिनसम्म मनाइने चण्डेश्वरी जात्रा आजदेखि शुरु

शर्मिला गुरुङ

काभ्रेपलाञ्चोक, ३ जेठ : बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ ।


तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन्। वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही अवसरमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यसपालि यो मेला आइतबारसम्म लाग्नेछ ।

पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्छ ।

बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताउनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

जात्रामा पूर्णिमाको दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । बनेपा नगरपालिकाले जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास रहेको छ । रासस

प्रतिक्रिया