बन्दाबन्दीमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो : छिट्टै खुलाउने तयारी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १९ असार : कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रु ३४ अर्बको नोक्सानी बेहोरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म प्रति महिना सरदर रु १० अर्बको कारोवार मूल्यको क्षति अनुमानसहित हालसम्म रु ३४ अर्ब नोक्सानी भएको जनाएको हो ।

आगामी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने पनि मन्त्रालयले आँकलन गरेको छ । नेपाल पर्यटन बोर्डले गरेको हालैको अध्ययनअनुसार पर्यटन तथा हवाइ क्षेत्रमा रु १० खर्बभन्दा बढी लगानी भएको छ ।

कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरुबारे जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि यही असार १५ गतेसम्मको मन्त्रालय मातहतका योजना कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हो ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो । पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनःकर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी दिनुभयो । उहाँका अनुसार होटलको लागि भ्याट छुटको समयावधि दुई महिनाबाट बढाएर चार महिना पु¥याइएको, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस गरिएको छ ।

पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका कारण मन्त्रालय मातहतका विकास आयोजनालाई असर गरेको र यो अवधिमा पर्यटन तथा हवाई क्षेत्रमा नराम्ररी असर पुगेको बताउनुभयो । उहाँले विकास आयोजनाको मुख्य प्रगति हुने समयमा बन्दाबन्दीको सामना गर्नु परेकाले उल्लेख्य प्रगति गर्न नसकिएको भए पनि मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको काम भने सन्तोषजनक प्रगति रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “करिब छ महिना विकास आयोजनाको काम द्रूत गतिमा जानुपर्ने र विकास बजेट खर्च हुने मुख्य समय हामीले गुमायौँ, तर पनि राष्ट्रिय गौरवका आयोजनाको काम बन्दाबन्दीमा पनि निरन्तर भएर केही प्रगति पनि हासिल गरिएको छ ।” पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन मन्त्रालय लागि परेको बताउनुभयो ।

पर्यटन र हवाई क्षेत्र खुलाउने तयारी
कोभिड १९ महामारीबाट धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तयारी गरिए पनि महामारीको सङ्क्रमण बढ्दै गएकाले अझै अन्यौलता छ । तथापि मन्त्रालय, मातहत निकाय तथा सरोकारवाला व्यवसायीले महामारीबाट बचेर सेवा सञ्चालनका लागि प्रोटोकल बनाएका छन् ।

यसै सन्दर्भमा व्यवसायी तथा सरोकारवालाको समन्वयमा छिट्टै पर्यटन क्षेत्र खुलाउने सरकारको तयारी छ । पर्यटनमन्त्री भट्टराईले व्यवसायीले पर्यटन तथा हवाई क्षेत्र चाँडो खुलाउनुप¥यो भनेर दबाब दिइरहेकाले सरकारले पनि यो क्षेत्रलाई खुलाउने पूर्वतयारी गरिरहेको जानकारी दिनुभयो ।

“हामी (सरकार) पर्यटन क्षेत्र खुलाउने पूर्वतयारीमा छौँ, पर्यटन व्यवसाय छिटो खोल्न व्यवसायीको दबाव छ, भोली खोलेर सेवाग्राही तथा विदेशी पर्यटक पनि आउने वातावरण हुनुप¥यो, अहिले हरेक पर्यटन क्षेत्रले आआफ्नो प्रोटोकल तयार गरिसकेका छन्, अब क्रमशः पर्यटनलाई चलायमान बनाउन सहजीकरण गर्दै जानुपर्छ भन्ने नै छ, तर कोभिड सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ”, उहाँले भन्नुभयो ।

बन्दाबन्दीमा २६१ अन्तर्राष्ट्रिय उडान : १६ हजार नेपालीको उद्धार
पर्यटन मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा कूल २६१ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका चार र श्री एयरलाइन्सका छ गरी नेपाली एयरलाइन्सले मात्रै १७० उडान गरेका छन् । जम्मा ४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करीब ८९१ टन कार्गो नेपाल भित्रिएको छ भने ४७२ टन कार्गो बाहिरिएको मन्त्रालयले जनाएको छ ।

आन्तरिकतर्फ पनि यो अवधिमा ६१ हेलिकप्टर र ६१ पटक जहाजको गरी ३०५ कार्गो उडान भएका जनाइएको छ । मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकबाट मार्च २४ देखि ३० जुनसम्म निगमसहितका अन्य वायुसेवाका कूल २१४ उडानबाट १६ हजार ६७२ नेपालीलाई उद्धार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४०८ यात्रु विदेश प्रस्थान गरेका पनि मन्त्रालयले जानकारी दिएको छ । बन्दाबन्दीको अवधिमा विभिन्न जिल्लाबाट ९५० पर्यटकको उद्धार गरिएको छ । यसमा ६११ विदेशी पर्यटक छन् ।

गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल भिसेम्बरमा सञ्चालनमा आउने र व्यावसायिक उडानका लागि त्यसको तीन महिनाभित्र सबै कार्य सकिने तयारी रहेको जानकारी दिनुभयो ।

हाल यो विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । बन्दाबन्दीको अवधिमा तीन प्रतिशत भौतिक प्रगति भएको थियो । विमानस्थलको टर्मिनलमा प्राविधिक तथा यान्त्रिक उपकरण आउने क्रम शुरु भएको छ । विमानस्थल निर्माणमा २९ चिनियाँसहित २७५ कामदार निरन्तर परिचालन गरिएका मन्त्रालयले जनाएको छ । कतिपय प्राविधिक चीन, जापान, युरोपलगायत मुलुकबाट आउनुपर्ने भएकाले विमानस्थलको केही प्राविधिक काम विलम्ब भएको पनि मन्त्रालयले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि बन्दाबन्दीमा निरन्तर भएको छ । यस अवधिमा नौ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको विमानस्थल आयोजनाले जनाएको छ । बजेटबाट पर्यटन क्षेत्रको पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रु २० करोडको बजेट व्यवस्था गरिएको छ । होटल रेस्टुरा तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारु गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया