बन्दाबन्दी उल्लङ्घन गर्नेबाट रु ७० हजार राजश्व

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ९ वैशाख : बन्दाबन्दीका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ । 

अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो ।

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उहाँले सुनाउनुभयो । नगर क्षेत्रबाट काठमाडौँ बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया