बर्खे अधिवेशन प्रारम्भ : राष्ट्रियसभामा दलका नेताद्वारा सम्वोधन

राष्ट्रिय समाचार समिति

काठमाडौं २६ वैशाख : नयाँ बानेश्वस्थित सङ्घीय संसद् भवनमा सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराहन ४ः१० बजे सांसदलाई स्वागत गर्दै बजेट अधिवेशन आह्वानसम्वन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । त्यसलगत्तै लोकतन्त्रका लागि विभिन्न समयमा भएका आन्दोलनमा बलिदानी दिने शहीदप्रति मौन धारण गरियो ।

बैठकमा राष्ट्रिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शुभकामना मन्तव्यका लागि समय प्रदान गरिएको थियो । सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राट्रिष्यसभाका नेताका दीनानाथ शर्माले सरकारले कोरोना भाइरसविरुद्ध लड्न बेलैमा कदम चालेको हुनाले सम्भावित जोखिनबाट बचाउन सफल भएको बताउनुभयो ।

उहाँले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “आज पनि हामी बन्दाबन्दीमा छौँ, वर्षे तथा बजेट अधिवेशनमा आगामी नीति तथा कार्यक्रममा लामो छलफल गर्नुहुँदैन”, सांसद शर्माले भन्नुभयो, “संसद्मा छोटो छोटो रुपमा कुरा टुङ्ग्याउनुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विकासका अवस्थाका रहेको हुनाले लोकतन्त्र बलियो भए मात्र पार्टी बलियो हुन्छ भन्दै उहाँले देशका जिम्मेवार राजनीतिक दलबाट तरङ्ग पैदा गर्ने र पार्टी फुटाउनेजस्ता कार्य गर्न नहुने उल्लेख गर्नुभयो । कोरोना भाइरसका कारण नेपालको सीमावर्ती क्षेत्रमा नेपाली नागरिक अलपत्र परेका उल्लेख गर्दै सांसद शर्माले भन्नुभयो, “भारतमा पनि नेपालीको अवस्था बिजोग छ भन्ने आएको छ, सरकारले भारत र विदेशमा रहेका नेपालीको उद्धारमा ध्यान दिनेछ भन्ने शुभकामना दिन चाहन्छु ।” उहाँले कोरोना भाइरसबाट निधन भएका नेपालीलगायत सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदनामा प्रकट गर्नुभयो ।

नेपाली काँग्रेसका राष्ट्रियसभाका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस जोखिम नियन्त्रण र रोकथामका लागि आवश्यक औषधिको व्यवस्था र परीक्षणको दायरालाई फराकिलो तुल्याउन सुझाव दिनुभयो ।

“कोभिड –१९ बाट उत्पन्न परिस्थितिका कारण अध्ययनका लागि विदेशमा रहेका, रोजगारीका लागि विदेशमा गएका कैयौँ नागरिक स्वदेश फर्कन चाहनेलाई फिर्ता ल्याउन तत्काल योजना बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण कयौँ श्रमिकको रोजजार गुमेर रोजीरोटीको समस्या भएकाले उनीहरुलाई राहत दिने र माग सम्बोधन गर्न कृषिको उत्पादन र पूर्वाधारलगायतका क्षेत्रको विकास र विस्तारको योजना बनाउनुपर्छ, कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुपर्छ ।”

राजनीतिक दल र सवैधानिक परिषद्सम्वन्धी अध्यादेश जारी गर्ने कदमले सरकारले लोकप्रियता ह्वातै घटाएको बताउँदै उहाँले यस्ता विषय लोकतन्त्र र संविधान विपरीत भएको टिप्पणी गर्नुभयो । सांसद प्रमिला कुमारीले भारतसँग सिमाना जोडिएका जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आवश्यक रोकथाम र सतर्कता उचित अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले पर्याप्त कदम चाल्न नसकेको आरोप लगाउँदै उहाँले आवश्यक परे नयाँ कानून ल्याएर भए पनि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले विपद्का अवस्थामा कोरोना संक्रमितको उपचार तथा न्यून आय भएका श्रमिकको रोजी रोटीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकमा महामारी रहेका अवस्थामा सरकारले संवैधानिक र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएर गल्ती गरेको बताउँदै उहाँले त्यसलाई फिर्ता गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया