बलात्कारको आरोप लागेका सिद्धबाबा आश्रम फर्किए

admin

विराटनगर, पुस २० : बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै उनी उपचारका लागि विराट नर्सिङ होममा भर्ना भएका थिए।

बलात्कार आरोप लागेपछि मंसिर १२ गतेबाट उनको अस्पताल बसाई सुरु भएको थियो। धरौटीमा छाड्ने अदालतबाट आदेश आएको एक सातापछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो। दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर चतरा धाममाको आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए। अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो। प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट पहिलो पटक म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो। अदालतबाट अनुसन्धानका लागि चार पटकसम्म म्याद थप गरिए पनि उनको अनुसन्धान अवधि अस्पतालको डिलक्स रुममै बित्यो। अस्पतालको शैयाबाटै अनुसन्धानका क्रममा बयान लिइयो।

उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार सुरु गरेका थिए। गिरीले कृष्णबहादुर खतरामुक्त नरहेका कारण लामो समय चिकित्सकको निगरानीमा अस्पतालमै राखेर उपचार गर्नु परेको दाबी गरेका छन्। उनले अदालतमा पनि यही कुरा लेखेर पठाइदिएको बताए। उपचार प्रक्रिया पूरा भएर स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई आइतबार भने डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

सर्वसाधारण जोकोहीलाई उपचार गरेको पैसा तिर्न नसक्दा बन्धक बनाएर राख्ने गरेको अस्पतालले कृष्णबहादुरलाई भने पैसा नतिरिकन छाडिदिएको छ। उनको उपचार र औषधिमा कति रुपैयाँ खर्च भयो भन्ने हिसाब सार्वजनिक गर्न अस्पतालले पनि मानेको छैन। अस्पतालका लेखापाल सुवास पोखरेलले कृष्णबहादुरको उपचारमा कुल खर्च कति भयो भन्ने यकिन हिसाब नआएकाले भुक्तानी बाँकी रहेको जिकिर गरे।

‘अन्तिम हिसाब निकाल्ने काम भइरहेको छ,’ उनले। पोखरेलले कृष्णबहादुरलाई उपचारका क्रममा अस्पतालका विभिन्न रुम र वार्डमा राखिएका कारण सबैको एकमुष्ट हिसाब आएपछि मात्रै उपचार खर्चका बारेमा भन्न सकिने बताए।

अस्पतालबाट डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेको जानकारी प्राप्त भएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखेलले बताए। ‘अस्पतालबाट सिधै कृष्णबहादुर आश्रम गएको पाइयो,’ उनले भने, ‘तर अस्पतालबाट निस्किएपछि र त्यहाँ पुगेपछि पनि प्रहरीलाई खवर भने भएन।’

बलात्कारको आरोप लागेपछि चतराका अगुवा महिला एवं स्थानीय बासिन्दाले कृष्णबहादुरलाई बहिस्कारको घोषणा गरेका थिए। त्यो कुरा चाल पाएपछि उनले उपचारकै क्रममा एक रात अस्पताल छाडेको पाइयो। यही शुक्रबार राति अस्पताल छाडेका उनी चतरा पुगेर आफ्ना विरोधमा उत्रिएकालाई मिलाएर फर्किएको स्रोतले बतायो।

स्रोतका अनुसार १० बजे राति अस्पतालबाट निस्किएर निजी गाडीमा चतरातिर लागेका उनी आफूलाई उपचाररत अवस्थामै रहेको देखाउन शनिबार बिहान उज्यालो नभइकन आएर अस्पतालको बेडमै बसेका थिए। अस्पताल प्रशासनकै मिलेमतोमा उनी रातको समय पारेर बाहिर निस्किएको स्रोतको दाबी छ। अस्पतालमा उपचारमा आएका बिरामीलाई अस्पतालका कर्मचारी र सुरक्षा गार्डले निगरानीमा राख्छन् र बिरामीले बाहिर निस्कन पाउँदैनन्।

कृष्णबहादुरका विश्वासपात्र भनिएका बुद्ध शाक्यले यस विषयमा आफूलाई कुनै पनि कुरा थाहा नभएको बताए। कृष्णबहादुरलाई बचाउनलाई ठूलै प्रयत्न गरेका उनले यस विषयमा कुरा गर्नका लागि उनका अरु नजिककासँग सम्पर्क पनि गराउन मानेनन्। शाक्यले भने, ‘अहिले कसैले पनि केही कुरा बोल्दैनन्। कुरा गर्न आवश्यक पनि छैन।’

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले यो मुद्दामा दिएको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परेको छ । निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिन भित्रमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिइसकेको छ।

उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले कृष्णबहादुरको आदेशको विषयमा ‘राय’ पनि बुझाउन उच्चले भनेको बताए। न्यायाधीश उप्रेतीले गिरीलाई छाड्ने आदेश गर्नु पर्ने ‘राय’ उच्चमा बुझाउनु पर्ने हुन्छ। सरकारी वकिल कार्यालयले थुनामा राख्न पर्याप्त प्रमाण हुँदाहुँदै कृष्णबहादुर धरौटीमा छाड्ने आदेश भएको भन्दै उक्त आदेश बदर गरी उनलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै बिहीबार उच्चमा निवेदन दिएको हो।

प्रतिक्रिया