बलिवुडमा अर्को ठुलो शोक, चर्चित हास्यकलाकारको निधन

अस्मिता बेल्बासे

काठमाडौं, २५ असार : बलिवुडका वरिष्ठ अभिनेता तथा चर्चित हाँस्यव्यंग्यकार ८१ वर्षिय जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ । क्यान्सरसँग लडिरहेका जगदीपको निधनपछि बलिवुड शोकमा छ ।

अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन् । जगदीपले बलिवुडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन् । उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए ।

यस्तै ‘अन्दाज अपना अपना’मा उनले गरेको कामको पनि निकै चर्चा हुने गर्छ । जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो ।

तर, चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए । उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो । चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् ।

प्रतिक्रिया