बल्ल ‘मास्क’ लाउन थाले, राष्ट्रपति ट्रम्प

अस्मिता बेल्बासे

एजेन्सी, २८ असार : कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाएका छन् ।

घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन् ।

यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए ।

शनिबार उनले भनेका छन्, ‘तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो ।’

केही सञ्चारमाध्यमले राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार आग्रह गरेको उल्लेख गरेका थिए ।

एप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्‍याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने संवाददाताहरूलाई बताएका थिए ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु भएको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३२,४५,००० भन्दा बढी छ । सार्वजनिक रूपमा मास्क लगाउन निर्देशन दिने पछिल्लो राज्य लुईजीयाना बनेको छ ।

त्यहाँका डेमोक्र्याटिक गभर्नर जोन बेल एड्वर्ड्सले राज्यभरिका मदिरालयहरू बन्द गर्न निर्देशन दिँदै कोठाभित्र ग्राहकलाई सेवा दिन नपाउनेगरी रेस्टुराँहरूका निम्ति कडा नियम लगाएका छन् ।

ती प्रतिबन्ध र नियमहरू सोमबारबाट लागु हुनेछन् । उक्त राज्यका रिपब्लिकन सांसदहरूले उक्त कदमको विरोध गर्ने ठानिएको छ ।

प्रतिक्रिया