बाँदर धपाउन एयर गन

राष्ट्रिय समाचार समिति

अर्घाखाँची, २० असार : केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि छत्रदेव गाउँपालिकाले किसानलाई मङ्की एयर गन वितरण गरेको छ । कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका आठ वडामा पाँच थानका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।

दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दूक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।

जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली सखाप पार्दै आएको छ । अघिल्ला वर्ष छत्रदेव गाउँपालिकाले गाउँगाउँमा बाँदर हेरालुको व्यवस्था गरेको थियो । मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्ष साउनमा मालारानी गाउँपालिकामा एक जनाको ज्यानसमेत गएको थियो ।

प्रतिक्रिया