बाइडेन जीततिर लम्कन थालेपछि अदालत गए ट्रम्पका प्रतिनिधि

admin

काठमाडौं, कात्तिक २० : डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्ने प्रोजेक्सन गरिएको छ । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ ।

अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् । मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प त्यहाँबाट विजयी भए ।

त्यसैले यसपटकको चुनावमा यी राज्यहरुलाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । अमेरिकामा मतदान सकिएको २४ घण्टापछि पनि अहिलेसम्म कुनै पनि उम्मेदवारले आवश्यक २ सय ७० मत ल्याउन सकेका छैनन् ।

एसोसिएटेड प्रेस (एपी) को प्रोजेक्सनअनुसार इलेक्टोरल संख्या २ सय ६४ पु¥याइसकेका बाइडेनको पक्षमा ७ करोड १ लाखभन्दा धेरै लोकप्रिय मत भइसकेको छ । जो अमेरिकी राष्ट्रपतिका लागि अहिलेसम्म प्राप्त सर्वाधिक धेरै मत हो ।

डोनाल्ड ट्रम्प अदालततर्फ
अझै पनि बाइडेनको विजय सुनिश्चित भने भइसकेको छैन । जर्जिया, पेन्सिलभेनिया, उत्तरी कारोलिना र नेभादाको नतिजा आउन बाँकी नै छ । नेभादाबाहेक अन्यमा ट्रम्प अघि छन् । यी सबै राज्य जित्नसके ट्रम्पले आफ्नो कार्यकाललाई निरन्तरता दिन पाउनेछन् । तर हुलाकमार्फत मतदानको दिनपछि प्राप्त भएका मतपत्रलाई वैध नस्विकार्ने भन्दै ट्रम्पले अदालतको ढोका ढक्कक्याएका छन् ।

राष्ट्रपति ट्रम्पको अभियनले मिसिगन र पेन्सिलभेनियामा मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको हो । ट्रम्पले यसअघि नै मतदान सकिएपछि पनि मानिसहले भोट खसालिरहेको आरोप लगाएका थिए । उनले धाँधली भएको भन्दै मतगणना रोकिनुपर्ने माग गरेका थिए । निष्पक्ष रुपमा जनताले आफुलाई नै जिताएको उनको दाबी थियो ।

अमेरिकामा यसपटक झन्डै १० करोडले इलेक्शन डेअघि नै भोट खसालेका छन् । त्यसमध्ये अधिकांश भोट ईमेल र हुलाकमार्फत प्राप्त भएका छन् । ३ नोभेम्बरअघि नै भोट गरेर पठाइएका केही मतपत्र अहिले पनि प्राप्त भइरहेको छ ।

पेन्सिलभेनियाले शुक्रबारसम्म आउने मतपत्रहरुलाई मान्यता दिने जनाएको छ । यद्यपी, ट्रम्पले यस्ता मतपत्रलाई अवैध ठहर गरेका छन् । जनताले आफुलाई दिएको मत चोर्ने कोसिस भइरहेको उनको आरोप छ ।
एपी

प्रतिक्रिया