बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर, तीन प्रदेशका पहाडी क्षेत्रमा मौसम बद्ली

admin

काठमाडौं, ४ माघ : बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढ्दा तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक हप्तादेखि नै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो निकै बढेको र जनजीवन प्रभावित भएको हो । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिममा बिहानै देखि बाक्लो कुहिरो लागेको छ ।

यस्तै मध्य तराईको चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि बाक्लो कुहिरो लागेको छ । यी जिल्लाहरुमा बेलुकीपख सम्म नै कुहिरो लाग्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । पूर्वी तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापामा लागेको कुहिरो भने दिउँसोबाट हटेर जाने मौसमविद् निराजन सापकोटाले बताएका छन् ।

हुस्सु र कुहिरोले चिसो बढाएको कारण रौतहटको गरुडा नगरपालिकाले सूचना निकालेर आइतबारदेखि मंगलबारसम्मका लागि सबै विद्यालयमा बिदा दिएको छ । चिसोका कारण मानिसहरु घरबाट कम मात्रामा बाहिर निस्केका छन् । बजारमा पनि चहलपहल घटेको छ । चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन् ।

चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्ला ठाउँमा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्वसाधाराणलाई बढी समस्या भएको छ । घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन् । चिसोले गर्दा स-साना बालबालिका र वृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

सकेसम्म घरवाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरहरुले सुझाव दिएका छन् । यसैगरी सोमबार बेलुकीबाट भने तराईको मौसम सफा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताए । उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् सापकोटाले बताएका हुन् ।

यसैबीच आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको र केही न्यानो भएको मौसमविद्सा पकोटाले बताए। काठमाडौंमा आइतबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाडौं उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।

प्रतिक्रिया