बाढीपीडितको व्यवस्थापनमा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १७ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

“बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायको लागि सरकारले योेजना बनाउँदै छ, वर्षेनी देशमा हुने यस प्रकारका समस्यामा समुदायलाई नै परिचालन गर्नुपर्छ, जनधनको क्षति न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रदेश नं–२ को बाढीग्रस्तक्षेत्रको भ्रमण गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछु ।”

प्रतिक्रिया