बाढी र पहिरोको जोखिम : सतर्कता अपनाउन मौसमविदको सुझाव

admin

काठमाडौं, ७ असार : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ ।

लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेसँगै जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुन थालेको मौसमविद् बरुण पौडेलले बताए ।

ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन उनको आग्रह छ ।

प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आइतबार बेलुका प्रदेश १, २ र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा पश्चिमी वायुको प्रभाव र अन्य भू-भागमा मनसुनी वायुको असर रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली तथा बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव सात डिग्री सेल्सियस रहेको छ । 

यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू-भाग हुँदै मनसुन भित्रिएको थियो ।

प्रतिक्रिया