बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्छ : मन्त्री भट्टराई

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १६ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्ध मुलुक निर्माणका लागि बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्नेमा जोड दिनुभएको छ ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलको आज यहाँ आयोजित २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले राष्ट्र निर्माण गर्ने योग्य र सक्षम नागरिक उत्पादन गर्ने मुख्य थलो विद्यालय भएकाले विद्यालयले नै विद्यार्थीलाई हरेक क्षेत्रमा उचित अवसर दिनुपर्ने बताउनुभयो ।

सक्षम नागरिक उत्पादन गर्न यस विद्यालयले ठूलो योगादन दिएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि विद्यालयबाट सोही आशा गरेको बताउनुभयो ।  सोही विद्यालयका अभिभावक तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अक्सिडेन्टल स्कुलले अत्यन्त न्यून शुल्कमा पनि गुणस्तरीय शिक्षा दिएको भन्दै सराहना गर्नुभयो ।

भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माण आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले भौतिक संरचनामा विद्यालय कहिल्यै पछि पर्न नहुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलले वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया