बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

रिता घिसिंग

जाजरकोट, १७ मङ्सिर : बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम नरोकिएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ ।

बालबालिकाको स्थिति प्रतिवेदनअनुसार विवाहित ६७ हजार ३३२ मध्ये ७४ प्रतिशतले बालविवाह गरेको उल्लेख छ । ४९ हजार ८६२ जनाले १९ वर्षमुनिको उमेरमा विवाह गरेको पाइएको छ । प्रतिवेदनअनुसार १५ वर्षदेखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका छन् ।

त्यस्तै, १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना देखिएका छन् भने १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको सङ्ख्या पाँच हजार ६६८ रहेको छ । बालविवाह गर्नेमा बालक भन्दा बालिका बढी रहेका छन् । महिला तथा बालबालिका कार्यालय जाजरकोटको एक तथ्याङ्कअनुसार जिल्लामा बालविवाह गर्नेमध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक रहेका छन् । यसै सिलसिलामा जिल्लामा पहिलोपटक बालिका सम्मेलन गरी बालविवाह न्यूनीकरणका लागि शुरुआत गरेको छेडागाड नगरपालिकाले जनाएको छ ।

छेडागाड नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पाँचताराको संयोजनमा जिल्लामा पहिलोपटक बालिका सम्मेलनको आयोजना गरी बालविवाह न्यूनीकरणको अभियान थालिएको छ । त्यस्तै नलगाड नगरपालिकाले ‘बालविवाह न्यूनीकरणका, २०७५’ आचारसंहिता पारित गरी काम सञ्चालन गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

एक देखि १३ नं वडामा प्रत्येक वडामा एउटा बस्ती पर्ने गरी काम शुरु गरिएको उहाँले बताउनुभयो । वडा अध्यक्षको संयोजकत्वमा बालविवाह न्यूनीकरण गर्न १३ वटा बस्ती छनोट गरी नमूना गाउँ बनाउने अभियानमा लागेको उहाँको भनाइ छ ।

सम्मेलनमा सहभागी बालिकाले बालविवाह रोकथामका लागि जिल्लाभरि नै स्थानीय सरकारले अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय सरकार नै सक्रिय हुनुपर्ने माग गरेका छन् । कम उमेरमै विवाह गरेका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको शिक्षक बताउँछन् । घरायसी काम, गरीबी र आधुनिक प्रविधिको दुरूपयोगले बालविवाह गर्नेहरूको सङ्ख्या बढेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नपा– ८ का प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो ।

सरोकारवाला निकायले विद्यालयस्तरमा पनि परामर्शमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रअ सिंहले बताउनुभयो । हरेक शैक्षिक सत्रमा कक्षा छोड्नेको अवस्था विश्लेषण गर्दा त्यसको मूल कारण बालविवाह नै भएको उहाँले बताउनुभयो ।

बालविवाहका कारण समाजमा विकृति बढ्नुका साथै सम्बन्ध विच्छेदका घटना पनि अत्यधिक मात्रामा बढ्दै गएको जनाइएको छ । जिल्ला अदालत जाजरकोटले गत आर्थिक वर्षको मुद्दा फछ्र्यौटबारे सार्वजनिक गरेको एक तथ्याङ्कमा सम्बन्ध विच्छेद भएका ५१ वटा जोडीमध्ये ४१ जोडीको उमेर २० देखि २३ बीचको रहेको छ । ती सबै जोडीको विवाह १९ वर्ष नहुँदै भएको प्रतिवेदनमा उल्लेख छ ।

सानैमा विवाह गरेका कारण गरीबी बढेको र परिवारमा असमझदारी हुँदा विवाह गर्ने उमेरमा ती जोडीको सम्बन्ध विच्छेद हुने गरेको नेपाल बारका अध्यक्ष भीमबहादुर सिंहले बताउनुभयो । सानै उमेरमा विवाह गर्ने र उमेर बढ्दै गएपछि पश्चात्ताप गरेर सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
–रासस

प्रतिक्रिया