बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

admin

काठमाडौँ, मंसिर १६ : बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो ।

आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ ।

हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ । भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको छ ।

गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्ग(बि–१३ को मार्ग) र उमाकुण्ड–लक्षिणमूर्तितर्फका बाटोमा गाडी प्रवेश निषेध गरिएको हो । यस्तै नियमित आवागमन हुने गाडीलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट व्यवस्थापन गरिने कोषले जनाएको छ ।

भक्तजनलाई पश्चिम र दक्षिण ढोकाको बाहिर बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । यसैगरी मृगस्थली (ब्युटिफूल) भित्रको फेन्सिङ्गभित्र प्रवेश गर्ने गेटमा तीन वटै ढोकामा सशस्त्र प्र ह री र कोषको सुरक्षाकर्मी खटाउने, भित्र र बाहिर सशस्त्र प्रहरी र नेपाल प्र ह रीको गस्तीको व्यवस्था गरिएको छ ।

यस्तै बत्ती बाल्न आफू उपस्थित हुन नसक्नेका लागि विगत वर्षमा जस्तै एक हजार रूपैँयाको रसिद काट्ने व्यवस्था कोषले गरेको छ ।

रसिद काटी कोषबाट बत्ती बाली दिने, रातभर कुर्ने र बिहान वाग्मती नदीमा सेलाउने कार्य गरिनेछ । रसिदका लागि इच्छुक भक्तजनले कोषका वरिष्ठ सहायक गोकर्ण पौडेललाई सम्पर्क गर्न कोषले अनुरोध गरेको छ । पौडेलको सम्पर्क नम्बर ९८५१०००६८३ मा भक्तजनले सम्पर्क गर्न सकिनेछ ।

कोरोना जोखिम कायमै रहेकाले भक्तजनलाई मास्क अनिवार्य गरिएको छ । गएको वर्ष भने कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिक रुपमा स्थगित गरेको थियो ।

प्रतिक्रिया