बालुवाटारबाट नारा-जुलुससहित निस्किए केपी ओली (फोटोफिचर)

admin

काठमाडौं, ३० असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो । ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका हुन् ।

हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन् । ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ । उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन् । झण्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई बालकोटमा बाजागाजासहित स्वागत गरिएको छ ।

असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया