यतीको बाह्र वर्षपछि सिमरा उडान सुरु, भाडा कति ?

admin

काठमाडौं, २१ असोज : बुधबारदेखि यती एअरलाइन्सले राजधानीको नजिक सिमरा गन्तव्यमा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो ।

यतीको यो नवौँ र प्रदेश नं.२ मा दोस्रो गन्तव्य हो । एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर बुधबारदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार नाइन एन एएलएच 9N-AIH कल साइन भएको जेटईस्ट्रीम-४१ विमानमार्फत बुधबार बिहान ९:१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ पौने पाँच बजे हुनेछ ।

प्रवक्ता बर्तौलाले भने, ‘अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान सुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ ।’

बुधबार पहिलो दिन काठमाडौं-सिमरा-काठमाडौं उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइएको समेत उनले जानकारी दिए । २०५५ देखि सेवा प्रारम्भ गरेको यतीको अहिले एटीआर-७२ पाँच, जेटस्ट्रिम-४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् ।

यती एअरलाइन्सले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ । अहिलेको लागि यतीले प्रमोशनल भाडा काठमाडौं-सिमरा-काठमाडौंको एकतर्फी भाडादर एक हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।

यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

प्रतिक्रिया