बिजुलीको पोल ढल्दा साहको मृत्यु

राष्ट्रिय समाचार समिति

सप्तरी, २५ साउन: सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोमा आज बिजुलीको पोल ढलेर सोही ठाउँका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको छ ।मजदुर खोज्न मुसहरी टोल निस्किएका साह कुराकानी गरिरहेका बेला अचानक सिमेण्टले निर्मित बिजुलीको पोल ढल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पोल ढलेर टाउको तथा नाकमा गम्भीर चोट लागेको अवस्थामा साहलाई उपचारका लागि राजविराज ल्याइएको थियो ।

उपचारका क्रममा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक झनकबहादुर अधिकारीले बताउनुभयो ।

शवको राजविराजस्थित अस्पतालमा आजै परीक्षण भएको छ । डाकनेश्वरी नगरपालिका–३ तरही साविक घर भएका साह व्यापारका लागि परिवारसहित पातोमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया