बिजुली काटेका छैनौँ : विद्युत् प्राधिकरण

admin

काठमाडौं, २३ पुस : नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याका कारण केही समय कहीँ कतै बिजुली बत्ती काटिएको भए पनि त्यसलाई लोडशेडिङको रूपमा नबुझ्न आग्रह गरेको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नुपर्ने लगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्ने बताएका छन् ।

उनले समस्या देखिएका सब-स्टेशनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्ने लगायतका काम निरन्तर भइरहेको पनि जानकारी दिए । प्राधिकरणले काठमाडौं उपत्यकालगायत देशका कुनै पनि ठाउँमा घोषित वा अघोषित रूपमा विद्युतको कटौती नभएको बताएको छ भने उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र आवश्यकताअनुसारको बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सब-स्टेशन सुदृढीकरणका लागि प्रयास भइरहेको प्राधिकरणले दाबी गरेको छ ।

स्थानीय माग धान्न नसक्ने अवस्थामा ओभरलोड रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउने लगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्ने काम भइरहेको शाक्यले बताए । प्रसारण तथा वितरण लाइन र सब-स्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा बत्ती जाने ट्रिपिङको समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार विद्युतको माग सबैभन्दा धेरै हुने काठमाडौं उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सब-स्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको प्राधिकरणले जनाएको छ ।

गएको वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भइ ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणको विवरणमा उल्लेख छ । पछिल्लो केही महिनायता ग्राहकहरूले पटक-पटक बत्ती जाने गरेको गुनासो गर्दै आइरहेका छन् तर प्राधिकरण भने हप्तैपिच्छे विज्ञप्ति निकाल्दै लोडशेडिङ भएको नमान्न आग्रह गर्दै आइरहेको छ ।

प्रतिक्रिया