बिरामीले अस्पतालमा दुःख पाउनु हुदैँन : गृहमन्त्री थापा

admin

चितवन, १३ फागुन : गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

मंगलबार अस्पतालको  निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए।

‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो । देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताए । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए ।

तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो ।

मन्त्री थापाले मंगलबार नै भरतपुर महानगरपालिका-१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।

प्रतिक्रिया