बिहीबार ९ः३० बजे बालुवाटारभित्र भएकाे के हाे ?

admin

काठमाडौं, भदौ ६ :
समय बिहान :बिहान ९ः३०
स्थान :प्रधानमन्त्री निवास बालुवाटार

केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई जिम्मा दिएको छु । उहाँ (दाहाल) ले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ ।

आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ । पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस् । सबै निर्णय सहमतिका आधारमा गर्नुहोस् । आवश्यक पर्दा मसँग पनि टेलिफोन सम्पर्क गर्न सकिन्छ । तपाईहरू मिलेर पार्टीलाई सर्वसम्मत ढंगले चलाउँदै गर्नुहोस् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

माधव नेपाल :कुनै पनि हालतमा सर्वसम्मत हुँदैन । सबै निर्णय एकलौटी गरेर कसरी सर्वसहमति ? असहमतिकै बीचमा तपाईहरूले थुप्रै निर्णय गर्नुभएको छ । अबचाहिँ कसरी सहमति ? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु । त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं । अरूलाई अनेकथरी भन्नुहुन्छ । तपाईका निकटका मान्छेले चाहिँ जे पनि बोल्न र लेख्न मिल्छ ? उनीहरूलाई अनुशासन लाग्दैन ? मैले पार्टीमा आफ्ना कुरा राख्नसमेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी ? हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस् ।

दाहाल :प्रधानमन्त्री आज सिंगापुर जाँदै हुनुहुन्छ । अहिले आवेश, आक्रोश होइन, संयम अपनाऔं । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरौं । म प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्छु । छिट्टै पार्टीको एजेन्डामा छलफल गर्नका लागि प्रधानमन्त्रीले भनेझैं पार्टीको बैठक बोलाउँछु ।

छलफल, बहस गर्दै सहमतिकै आधारमा हामीले पार्टी सञ्चालन गर्ने हो । आवश्यक पर्दा प्रधानमन्त्रीसँग पनि छलफल गर्छु नै । अन्य विषयमा पनि तपाईंहरू सबै नेताहरूसँग आवश्यक परामर्शका आधारमा निर्णयमा पुग्ने प्रयास हुन्छ । मिलेरै पार्टीलाई अगाडि लैजानुको विकल्पै छैन ।

विष्णु पौडेल :(अध्यक्षसँग बोल्ने अनुमति लिएर) प्रधानमन्त्री तथा पार्टी अध्यक्षको स्वास्थ्यलाभको कामना र उहाँको सिंगापुर उपचार भ्रमणका लागि शुभकामना दिएर पठाउने गरी स्वास्थ्यलाभको प्रस्ताव म बैठकमा राख्छु । बैठक सञ्चालनका अन्य विषय, विधिका विषयमा हामी छलफल÷बहस गदै जाऔंला… (फेरि माधव नेपाल बोल्न सुरु गरिहाले)

नेपाल : तपाईहरुका कुरा कत्ति मिठा ! यसैगरी पार्टी चलाउँदै जानुहोस् ।

ओली : तपाईले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु । कहाँकहाँ के भन्दै हिँड्नुभएको छ, बुझेकै छु । लौ भैगो, तपाईको शुभकामना चाहिएन मलाई ।

नेपाल : तपाईको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस् । म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन । छानबिन गरौं ।

ओली : तपाई कहाँको विधिको कुरा गर्नुहुन्छ ? पार्टीमा तपाईको कुरा (असहमतिपत्र) बुझाउँदै–नबुझाई मिडियामा किन पहिले बुझाएको ? के यही हो तपाईको विधि र प्रक्रिया ? मिडियामा पहिले फरक मत बाँड्ने अनि पार्टीमा बुझाउन ल्याउने । त्यसमा कुनै छलफल हुँदैन । कोही अहिले सचिवालयमा थपिँदैनन् ।

अरूले के लेखे के गरे भन्ने ? तपाईंले चाहिँ बुधबार (साप्ताहिक) मा के लेखाउनुभएको छ ? मैले हेरेको छैन भन्ठान्नुभएको छ ?

वामदेव गौतम/नारायणकाजी श्रेष्ठ : अब यसरी नसोचौं, प्रधानमन्त्रीको स्वास्थ्लाभ बैठकले गरौं, अरू विषयपछि छलफल गरौंला। (बैठकमा ओली नेपाल चर्काचर्कीमा हस्तक्षेप गर्न खोज्दै)

दाहाल : ल आज धेरै छलफल नगरौं । पछि गरौंला छलफल । आज विषय टुग्याऔं । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको माइनुट लेख्नुहोस् । आजलाई अब धेरै भयो, उठौं ।

(सचिवालयका नेताहरूसँगको कुराकानीका आधारित)

‘४६ वर्षदेखि विवाद व्यहोर्दै छु’

प्रधानमन्त्रीको स्वास्थ्यलाभको प्रस्ताव सचिवालय बैठकमा आउँदा सबै नेताहरुले स्वास्थ्य लाभको कामना गर्दासम्म पनि तपाईले गर्नुभएन रे नि ?
मैले नै उहाँलाई प्रस्ताव राखेंं, तपाईलाई स्वास्थ्यलाभको कामना छ भनें मैले । उहाँले तपाईको स्वास्थ्यलाभको कामना मलाई चाहिएन, आवश्यक छैन भन्नुभयो ।

किन उहाँले त्यसो भन्नुभयो त ?
उहाँ (ओली) लाई के लागेको रहेछ भने मैले उहाँको स्वास्थ्यबारेमा जहिल्यै पनि खराब टिप्पणी गरं रे । मैले चुनौती दिएँ, एक ठाउँमा पनि मैले उहाँको स्वास्थ्यबारे खराब र नकारात्मक टिप्पणी गरेको एउटा पनि प्रमाण जुटाइदिनुहोस् । मैले भनें– म त्यत्ति धेरै हृदयविहीन र निष्कृष्ट मान्छे होइन । तल्लो स्तरमा जाने मान्छे होइन । तपाईंले त्यसरी सोच्नुभएछ, मलाई दुःख लागेको छ ।

प्रधानमन्त्रीले आफू नहुँदा पार्टी निर्णय सहमतिका आधारमा गर्नुहोस् भन्दा किन भनाभन गरेको ?

मैले भनेको के हो भने पार्टीमा विमति भएका विषयमा पनि निर्णय गरेर जाने काम सुरु गरिहाल्यौं । भोलि तपाई (ओली) को पनि विमित रहन सक्छ । कुन ठूलो कुरा हो र ? तपाईं अध्यक्ष भए पनि यो त कम्युनिस्ट पार्टी हो । तपाईको भोट र मेरो भोट बराबर हो । त्यसकारण आफ्ना कुरा राख्ने छुट सबैलाई हुन्छ भन्ने कुरा मैले गरेको हुँ । कुनै भनाभन भएको होइन ।

दाहाललाई अधिकार दिएको विषयमा तपाईंको असन्तुष्टि होइन ?

होइन, होइन । त्यो त स्वाभाविक हो । प्रचण्डजीले नै अधिकार प्राप्त अध्यक्ष पाउनुपर्छ भन्ने पक्षमा रहेको मान्छे हुँ म । (हाँस्दै) पार्टी अध्यक्ष उहाँ हुनुपर्छ भन्ने मान्छे भएकाले म किन असन्तुष्ट हुनु ? मेरो प्रस्ताव नै के हो भने सरकारको जिम्मा केपी ओलीलाई र पार्टीको जिम्मा प्रचण्डलाई भन्ने हो । दुईटा अध्यक्षलाई दुईटा अलगअलग काम भनेको हो ।

पार्टीमा यत्रो मनमुटाव देखिन थालेको छ । अब तपाईं कसरी जानुहुन्छ ?
सहमतिबाटै जानुपर्छ । पार्टीलाई छलफलबाट मिलाएरै अगाडि लैजानुपर्छ । पार्टीमा छलफल, बहस त भई नै रहन्छन नि ! आजमात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदैहुँदै आएको छ । त्यस्ता विवाद तपाईंहरुका निम्त्ति नयाँ लाग्न सक्छ । मैले त ४६ वर्षदेखि नै व्यहोर्दै आएको छु ।

प्रतिक्रिया