बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

शर्मिला गुरुङ

काठमाडौँ, ११ भदौ : नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ ।

साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा इन्द्रमान महर्जनले जानकारी दिनुभयो ।

स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताउनुभयो । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो ।

आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन ग¥यो । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो ।

नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा नन्द श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार २०४६ साल फागुन ७ गते शिलान्यास गरिएको उक्त अस्पतालको भवन २०४९ फागुन १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गर्नुभएको हो । त्यस यता निरन्तररुपमा सेवा प्रवाह गरिरहेको अस्पतालबाट ठूलो सङ्ख्यामा सर्वसाधारणले नयाँ ज्योति प्राप्त गरेका छन् ।

आई केयर फाउन्डेशन, नेदरल्याण्डको सहयोगमा ७० रोपनी क्षेत्रफलमा निर्मित अस्पतालका २६ वटा भवन छन् । फाउन्डेशनले अस्पताल स्थापनापछि पाँच वर्ष पूर्णरुपमा आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन गरिदिएको थियो भने त्यस पछिका १० वर्ष सञ्चालनमा आंशिक सहयोग गरेको थियो ।

पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह (माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट)को अध्यापन गराउँदै आएको छ ।

अस्पतालले वर्षेनी स्नातक तहका लागि १७ जना र स्नातकोत्तर तहका लागि पाँच जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

विभिन्न तहमा मानव संशाधनका तालीम दिँदै आएको अस्पतालमा प्रमाणपत्र तहको नेत्र सहायक विषयको अध्यापनसमेत हुँदै आएको छ । अस्पतालमा हाल आठ जना डाक्टर सहित ९६ जना जनशक्तिमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ ।

यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ । फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सकलाई सम्मान गर्नेलगायतका कार्यक्रम छन् । रासस

प्रतिक्रिया