बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम: चीन

admin

बेइजिङ, चीन, ११ असोज: अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ । दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ ।

उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ । अमेरिकी सैनिक विमानद्वारा साउथ चाइना सीमा भएको उत्तेजना फैलाउने कार्यलाई लिएर चीनले सधैँ विरोध जनाउँदै आएको र यस विषयलाई सही समाधान दिन आवश्यक उपायलाई निरन्तरता दिइने छ, रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्योकिआङले सञ्चारकर्मीसँगको भेटमा बताउनुभयो ।

चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापूहरूको श्रृङ्खला तथा सामुद्रिक तटको निर्माण गरेको छ । जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । साथै उक्त क्षेत्रलाई सन् २०१६ मा अन्तराष्ट्रिय सामुद्रिक न्यायाधिकरणका रूपमा घोषणा गरिएको थियो । तर चीनले यसमा कुनै कानूनी आधार नरहेको बताइदै आएको छ ।

“यो हप्ताका उडानहरू नियमित उडान हुन्,” पेन्टागनका प्रवक्ता लेफ्टिनन्ट कर्नेल डेभ इस्टबर्नले बताउनुभयो । अमेरिकाले चीनको उक्त क्षेत्रमाथिको दावीलाई अस्वीकार गर्दै अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिने बताएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया