बुद्ध शान्ति पार्क निर्माण अभियानद्धारा ज्येष्ठ नागरिक सम्मानित, दशैंको शुभकामना साटासाट

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ असोज : बुद्ध शान्ति पार्क निर्माण अभियानले दशैंको अवसरमा शुभकामना आदान–प्रदान तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रमको आयोजना गरेर अभियानले समाजमा विशिष्ट योगदान पुर्याएका पूर्व सांसद नानीमैयाँ दाहाल, समाजसेवी नानीछोरी महर्जन, समाजसेवी शंकर पौडेल र समाजसेवी दानकाजी शाक्यलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।

आध्यात्मिक गुरु भोलेनाथ बाबा लिला चौलागाँईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । चौलागाईँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए ।

बुद्ध शान्ति पार्क निर्माण अभियानको भूमिका प्रशंसनीय रहेको सुनाउँदै अभियानले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नपनि उल्लेख्य योगदान पुर्याउने उनको विश्वास छ ।

त्यस्तै, कार्यक्रममा अर्का अध्यात्मिक गुरु विष्णु आचार्यले नेपाललाई अब हिन्दूराष्ट्र पूर्नस्थापना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

सम्मानित हुनेहरुमध्येबाट पूर्व सांसद नानीमैया दाहालले राष्ट्र रुपान्तरणमा सबैले योगदान पुर्याउनुपर्नेमा जोड दिएकी थिईन् । अभियानलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहनेपनि विश्वास दिलाईन् ।

कार्यक्रममा अभियानका अध्यक्ष शान्तबहादुर शाक्यले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको गाउँ, शहर, टोल, बस्ती नगर तथा आम नेपालीको मन, आत्मा र घरघरमा बुद्धको आदर्शलाई स्थापित गर्नु रहेको सुनाए ।

उनले भने,‘यीनै उद्देश्य प्राप्तिको लागि यस संस्थाले देशैभरि सार्वजनिक बुद्ध पार्क तथा ध्यान केन्द्र स्थापना गर्नको लागि महाअभियान सुरु गरिसकेको छ ।’

कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव सुरेश बस्यालले गरेका हुन् । बस्यालले नेपाललाई बुद्ध राष्ट्र बनाउनुपर्ने बताउँदै भने,‘त्यसको लागि बुद्धको दर्शनलाई घर घरमा पुर्याउनुपर्छ । हामी अहिले यही अभियानमा जुटेका छौं ।’

प्रतिक्रिया