बेलयातमा कोरोना भाइरसविरुद्ध नयाँ खोपको परीक्षण सुरू

अस्मिता बेल्बासे

एजेन्सी, ११ असार : कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरू भएको छ । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वमा परीक्षण सुरू भएको हो ।

कोरोना भाइरसविरुद्धको सम्भावित खोप कम्तिमा ३०० जनालाई आउँदा हप्ताहरूमा  दिइने छ । जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरू भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरू भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरू जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

इम्पेरियल कलेजको टिमले बनाएको खोपको परीक्षणमा स्वतन्त्रमा रुपमा सहभागी हुन चाहेका व्यक्तिलाई प्रारम्भिक डोज दिइने छ । पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरू हुनेछ ।

दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् । इम्पेरियल कलेजका वैज्ञानिकहरूले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरूमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।

यसैबीच बेलायती राजकुमार विलियम्सले अक्सोफोर्ड विश्वविद्यालयमा खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा सहभागी भएका व्यक्तिहरूलाई भेटेका छन् । द ड्युक अफ क्याम्ब्रिजले परीक्षणमा सहभागी भएका व्यक्तिहरूलाई धन्यावाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया