बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

राष्ट्रिय समाचार समिति

बर्लिन, ५ असार : बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् ।

बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको संक्रमण उच्च रहेको हुन्छ भने श्रेणी ३ ले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ ।

बेलायती स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोना संक्रमणमा व्यापक गिरावट आएको बताएका छन् । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । यहाँ ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिनेक्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताउनुभयो । यसैबीच जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन् । जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएका छन् । योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ ।

यसैगरी चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ । बेइजिङमा करिब ३ लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बेइजिङमा गत साता १८३ जना नयाँ संक्रमित भेटिएका थिए । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता संक्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ ।

प्रतिक्रिया