बेलायतमा सरुभक्तको प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकर्पण लेखन

मनिषा थापा

– सुधा गुरुङ

अल्डरशट! पोखरेली मंच यूकेको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य, मदन पुरस्कार बिजयी बरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेरा भित्र सरुभक्त कार्यक्रम गत ९ नोभेम्बर शनिवार अल्डरशटको एम्पाएर हलमा भब्य र सभ्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी (साहित्यकर दुबसु क्षेत्री) थिए।

कार्यक्रममा सरुभक्तको नयां उपन्यास प्रतिगन्धको अन्तराष्ट्रीय लोकापर्ण राजदुतले गरेका थिए। करीब डेढ दशक पछि आफ्नो नयां उपन्यास प्रकाशन गरेका सरुभक्तले सो कृतीको गर्भाधान २०६१ सालमा आफू तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहेका बेला माधव प्रसाद घिमिरेको बहुचर्चित नाटक मालती मंगले लिएर अमेरिका जाने क्रममा ग्याटविक एयरपोर्टमा भएको कुरा बताएका थिए। साथै १५ बर्षपछी सो उपन्यासको बेलायतमा अन्तराष्ट्रीय लोकार्पण गर्न पाउँदा आफुलाई अत्यन्त हर्ष लागेको कुरा बताए। विशेषत: प्रवासी नेपालीहरुको कथा ब्यथा समेटिएको सो उपन्यास बिदेश बसेका नेपालीलाई मन पर्ने बिस्वास आफुले लिएको कुरा बताए। विश्व प्रसिद्ध साहित्यकार शेक्सपिएरबाट अत्यन्त प्रभावीत सरुभक्तले आफ्नो बेलायत यात्रालाई साहित्यिक तीर्थयात्राको उपमा दिएका थिए।

कार्यक्रम संचालन हरि प्रसाद गुरुङ्गले गरेका थिए भने शुभारम्भमा स्वागत मन्तब्य सहसंयोजक सुधा गुरुङ्गले राखेकी थिइन।साहित्यकार सरुभक्तको संक्षिप्त परिचय अनेसास का सल्लाहकार डा रुपक श्रेष्ठले दिएका थिए। कार्यक्रममा महामहिम राजदुतले सरुभक्त आफ्नो अत्यन्त निकटका साहित्यिक मित्र रहेको बताउदै उनका साहित्यिक कृतीहरुलाई समेटेर सुन्दर साहित्यिक शैलीमा परिचय दिएका थिए।

औसत नेपाली कार्यक्रम भन्दा केही फरक शैलीमा संचालन गरिएको सो कार्यक्रममा संबोधन, आसन ग्रहण र भाषण प्रथामा कटौती गरि कार्यक्रमलाई सक्दो चुस्त दुरुस्त बनाउने मनसाय आयोजकको रहेको बताउदै आमन्त्रीत सबै अतिथीहरुलाई एक मुष्ट स्वागत अभिवादन गरिएको कुरा सुधा गुरुङ्गले बताइन। कार्यक्रममा सरुभक्तले आफ्ना मुक्तक/ कविता बाचन गर्नुका साथै संचालक हरि गुरुङ्गले सरुभक्तका साहित्यिक यात्रा र उनीसंग अंतरंग रोचक संवाद गरेका थिए।


पोखरेली मंच यूकेले बेलायत र पोखरामा खेलकुद बिस्तारका साथै भिजिट नेपाल २०२० मा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले वेल्समा हाईक फर नेपालको आयोजना पनि गर्दै आएको छ। सोको अलावा अब कला र साहित्य क्षेत्रमा पनि केही टेवा पुगोस भन्ने हेतुले पहिलो पटक बेलायतमा यसप्रकारको साहित्यिक कार्यक्रमको आयोजना गरिएको कुरा मुख्य संयोजक लाल प्रसाद गुरुङ्ग बि ई एमले बताए।

बिगत चार दशक देखि निरन्तर साहित्यमा कलम चलाउदै आएका सरुभक्तका करीब ५० भन्दा बढी पुस्तक प्रकाशीत भैसकेका छन।सरुभक्तको २०४८ सालमा प्रकाशित पागल बस्तीले मदन पुरस्कार प्राप्त गरेको थियो। पुस्तक लेखनका अलावा उनका थुप्रै नाटकहरु मंचन भैसकेका छन साथै उनले रचेका थुप्रै गीतहरु विभिन्न ब्यान्डहरुले गाएर लोकप्रीय भएका छन!

कार्यक्रमलाई थप रोचक बनाउन स्थानीय कलाकारहरु राजु गुरुङ्ग, मधु गुरुङ्ग,लाल प्रसाद गुरुङ्ग, बिनय पून, जीवन गुरुङ्ग र पहलमान गुरुङ्ग आदीले सरुभक्तका रचनाका गीत गाएर सुनाएका थिए।

कार्यक्रममा २०३६ सालतिर मंचन गरिएको सरुभक्तको नाटक एउटा घरको कथा हैन को लाहुरे हुन्छु भन्छन सबैले बोलको गीत तत्कालिन नाटकका पात्र लाल प्रसाद गुरुङ्गले गाएका थिए! ४० बर्ष अघि आफुले निर्देशन र अभिनय समेत गरेको सरुभक्तको उक्त नाटकका पात्र एकेन्द्र गुरुङ्ग र लालप्रसादलाई बेलायतमा बर्षौ वाद भेट्न पाउँदा औधी खुशी लागेको कुरा उनले उल्लेख गरे।
त्यस्तै राजदुत डा सुवेदी र आफू समकालीन साहित्यिक मित्र रहेको कुरा पनि उनले बताए।

कार्यक्रम प्रवेश निशुल्क राखिएको थियो यद्दपी कार्यक्रम ब्यवस्थापनका लागि सहृदयी साहित्य प्रेमीहरुबाट केही अर्थ संकलन गरिएको थियो। संकलित सो रकमबाट खर्च कटाएर बाकी रहेको रकम पोखरेली मंच यूकेका तर्फबाट पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले स्थापना गर्न लागेको आधुनिक संगीतका धरोहर स्व संगीतकार अंबर गुरुङ्ग संगीत कोष स्थापनाका लागि प्रदान गरिनेछ। सो पुरस्कार राष्ट्रीय स्तरमा गीत संगीत बिधामा विशेष योगदान पुराएका स्रस्टालाई प्रदान गरिनेछ। पोयुसांपको स्थापना २०३४ सालमा भएको थियो। सरुभक्त सो संस्थाको सस्थापक सचिव थिए।

कार्यक्रमको अन्तमा पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुङ्गले अर्थ संकलनमा साथ दिने सबै सहयोगी हातहरु, पुस्तक बिक्रीमा सहयोग पुराउनुहुने दिदीबहिनीहरु, सरुभक्तको बेलायत आगमन बाट अहिले सम्म समाचार संप्रेषणमा निरन्तर साथ दिने एभरेस्ट टाईम्स, फोटो पत्रकार मिलन तमु, पत्रकार पुर्ण गुरुङ्ग, एस के गुरुङ्ग, बाचस्पती रेग्मी (शीतलपाटी डट कम), नवीन पोखरेल (वी नेपाली डट कम) लगायत अन्य पत्रकार मित्रहरु, सांगीतिक दल, साउन्ड सिस्टममा कृष्ण गुरुङ्ग, सहुलियत दरमा एम्पाएर हल उपलब्ध गराउने पुरन र नारन गिरी लगायत कार्यक्रम सफल तुल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुराएका सबै मित्रहरु साथै सहभागी सबै साहित्यप्रेमी दर्शक श्रोताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू