बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई दश हजार पाउन्डसम्म जरिवाना

अस्मिता बेल्बासे

एजेन्सी, ४ असोज : बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई दश हजार पाउन्डसम्म जरिवाना हुने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि सेल्फ आइसोलेशनमा नबस्नेलाई दश हजार पाउन्ड जरिवाना गर्ने निर्णय गरेका हुन् ।

नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक-पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवानामा दश हजार पाउन्डसम्म पुग्नेछ ।

यसअघि सेल्फ आइसोलेशनलाई निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो । यसमा कुनै जरिवाना तोकिएको थिएन । नयाँ नियम घोषणा गर्दै जोनसनले नियमको पालना नै कोरोना भाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताएका छन् ।

आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया