बेहुली झैँ खुलेको जानकी मन्दिर (फोटो फिचर)

मनिषा थापा

काठमाडौं : हरेक वर्ष झैँ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व विधिपूर्वक मनाउन लागिएको हो।

आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ। साताब्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ ।  विवाहपञ्चमी महोत्सव आज नगर दर्शनबाट शुरु हुनेछ।
दोस्रो दिन भोलि फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवं विवाह र सातौँ दिन राम कलेवा विधिसँगै महोत्सव सम्पन्न हुनेछ ।  तशिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्। प्रत्येक पाँच वर्षमा अयोध्याबाट आधिकारिक रुपमा जन्ती आउने गरेकोले यस पटक पाँचसयको संख्यामा जन्तीहरु आएका छ्न्।

पौराणिक मान्यताअनुरूप राममन्दिरबाट बाजागाजा, झाँक्रीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।  नेपालका टाढा-टाढा भू-भाग देखि छिमेकी देश भारतका श्रद्धालु भक्तजनहरुको आउने क्रम जारी छ। उनीहरु रातभर जानकी मन्दिरकै प्रांगणमा जाग्राम बसेका छन्।

भक्तजनहरु बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग समृद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू