बैंक र एटिएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

राष्ट्रिय समाचार समिति

डोटी, २१ वैशाख :कोभिड–१९ को सङ्क्रमण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय सङ्घसंस्थाद्वारा सञ्चालित एटिएम सेवा लामो समयदेखि बन्द भएका कारण सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेका राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनसिसी बैंकले एटिएम सेवा सञ्चालन गरेको भए पनि लकडाउनका कारण अधिकांश बैंकका एटिएम बन्द भएपछि सेवाग्राहीलाई समस्या हुँदै आएको दिपायलका स्थानीय उत्तम द्वारियाले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले बैंक खुल्ने कुरो भएन, एटिएमसेमत बन्द भएपछि निकै समस्या भएको छ ।”

जिल्लामा निजी तथा सरकारी गरी एक दजर्नभन्दा बढी बैंकहरु रहे पनि लकडाउनका कारण यहाँका बैंक कर्मचारीले सेवाग्राहीलाई सेवा दिन सकेका छैनन् । बैंक तथा एटिएम सेवा बन्द भएपछि सामान्य औषधिलगायत अन्य सरसामान किन्नका लागि दैनिक समस्या हुँदै आएको सिलगढीका स्थानीयवासी सिद्धराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरै अगाडि बैंक र एटिएम बुथ छन्, आफूले पैसा निकाल्न पाएको छैन, सबै बन्द छन्, पैसा नहुँदा तनाव भएको छ ।” जिल्लामा रहेका बैंक तथा एटिएम सेवा नियमित रुपमा सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा रहेका बैंक तथा एटिएम सेवा नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जताततै कोरोनाको त्रास छ, दिनभरिमा सेवा दिन नसके नि दिनमा केही घण्टा बैंकिङ सेवा र एटिएम सेवा नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिइएको छ ।”

राष्ट्रिय वाणिज्य बैंक दिपायल पिपल्लाका कर्मचारी गणेश विष्टले लकडाउनका कारण अधिकांश कर्मचारी जिल्लाबाहिर तथा गाउँमै फसेका कारण नियमित रुपमा सेवा सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनका कारण केही कर्मचारी घरैमा रहेका कारण नियमित सेवा दिन सकेका छैनौँ, एटिएम बिग्रेको छ, मर्मत गर्ने प्राविधिक नहुँदा बन्द भएको हो ।”

यहाँका बैंकहरुमा चौबिसै घण्टा पहरेदार हुने भए पनि बैंक तथा एटिएम सेवा भने पूर्णरुपमा बन्द रहेका छन् । बैंकमा रहेका पहरेदारले एटिएम बिग्रेको र कम्प्युटरमा नेटवर्क नभएको भन्दै ग्राहक फर्काउने गरेको स्थानीयवासीको आरोप छ ।

बैंकले आफ्ना सेवालाई सञ्चालन नगर्दा सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै गएको दिपायल राजपुरका अर्का स्थानीयवासी अशोक सोवले गुनासो गर्नुभयो । जिल्ला सदरमुकाम मात्रै नभई यहाँका ग्रामीण क्षेत्रमा रहेका बैंकसमेत बन्द रहेको सेवाग्राहीको गुनासो रहेको छ ।

प्रतिक्रिया