बैठकको सुरुमै नाराबाजी : एमाले सांसदलाई सभामुखको सम्बोधन, प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

admin

काठमाडौं, ७ असोज : प्रतिनिधि सभाको बिहीबारको बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदको नाराबाजीबीच यी दुई विधेयक पारित भएको हो । अर्थ मन्त्री जनार्दन शर्माले बिहीबारको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । अब प्रतिनिधि सभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

यस्तै, बिहीबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका थिए । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह समेत गरेका थिए । उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराए ।

यस्तो छ सभामुखले एमालेलाई गरेको सम्बोधन :
संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । संसदको बैठकमा पुर्याइने अवरोधले लोकतान्त्रिक अभ्यासमाथि संकुचन ल्याउँछ । त्यसमाथि अहिले हामी देशको आर्थिक प्रशासनसँग सम्बन्धित अत्यावश्यक अर्थ विधेयकहरुको प्रक्रियामा छौँ । तसर्थ माननीय सदस्यहरुलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग पुर्याउनका लागि अनुरोध गर्दछु ।

माननीय सदस्यहरुले बैठक सञ्चालनमा पुर्याउनुभएको अवरोधले यस सभामा छलफल गर्नुपर्ने विषयले गति लिन सकेको छैन । देशका विभिन्न समस्याहरु तथा जनजीविकाको पक्षमा प्रतिनिधिसभाका अन्य सदस्यहरुले समेत बोल्न पाउनुभएको छैन । यी यावत समस्याहरूमा उहाँहरुको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनका लागि आ-आफ्नो स्थानमा आशन ग्रहणका लागि अनुरोध गर्दछु ।

नेपालको संविधानको धारा १ सय ५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्नेगरी संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु । प्रतिनिधिसभा नियमावली २०७५ नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरु हामी सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन् । उल्लेखित प्रावधानहरुको पालनका लागि पुनः अनुरोध गर्दछु । आफ्नो सो आग्रहपछि पनि एमालेले नाराबाजी नछोडेपछि उनले संसदको कारवाहीलाई अघि बढाएका छन् ।

प्रतिक्रिया