बैतडीमा निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

राष्ट्रिय समाचार समिति

बैतडी – जिल्लामा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ।

यस्तै, सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए। उनले भने, “हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ । यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु।”

सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ।

यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो । बैतडीमा हालसम्म ३ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया