‘ब्लफकल’ ले हैरान बनायो : प्रहरी

राष्ट्रिय समाचार समिति

डडेल्धुरा, ३० फागुन : प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् ।  

अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् ।

ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान बनाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीको १०० नम्बरमा दैनिक करिब ४०-५० वटा फोन आउने गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

ब्लफकल विशेष गरेर रातिको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। ‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका रहेको भए पनि महिलाको सङ्ख्या बढिरहेको छ ।’

उनले भने, “गलत सूचना दिने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोहीकेही नबोल्ने, फोन होल्डमा राखि राख्नेजस्ता कार्य गर्छन् ।” राति आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उनको भनाइ छ ।

कन्ट्रोल कक्षका प्रहरी मात्रै नभइ कार्यालय प्रमुखदेखि अन्यलाई समेत दुःख दिएकाले आवश्यकता बिना फोन नगर्न डडेल्धुरा प्रहरीले एक सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन (१००) नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया