भक्तपुरको गाईजात्रा सम्पन्न

राष्ट्रिय समाचार समिति

भक्तपुर, ६ भदौ :भक्तपुरमा साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व आजबाट सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको भक्तपुरको गाईजात्रापर्व आज तलेजुको पूजा गरेर सम्पन्न भएको हो ।



गाईजात्राको दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकालिने परम्परा रहेपनि अन्य दिनमा भने घिनताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइने गरिन्छ । जात्रा समापनका क्रममा आज दरबार क्षेत्रमा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो । भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाले टोलटोल घुमेर बत्तीसमेत दिएका थिए ।

आज श्रीकृष्णजन्माष्टमी समेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए । टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न भएको थियो ।

प्रतिक्रिया