भक्तपुरमा किट सकिएपछि आरडिटी परीक्षण रोकियो

राष्ट्रिय समाचार समिति

भक्तपुर, १२ जेठ :भक्तपुर अस्पतालमा किट सकिएपछि आजदेखि आरडिटी परीक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभएको छ । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।

आज दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।

त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो ।

भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

त्यसैगरी भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना सङ्क्रमण भएपछि यहाँका १६ जनाको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्नेे भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पु¥याई व्यवस्थापन गर्नुभएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दुबैजना आजै क्वारेन्टाइनबाट निस्किएर भक्तपुर अस्पतालमा विगतझै स्वयंसेवकको काममा फर्कनु भएको छ ।

युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर काम गर्दै आउनुभएको छ ।

सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर कोरोनाको परीक्षणमा आउने व्यक्ति तथा स्वाब सङ्कलन गरी पु¥याउने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख गर्ने लगायतका काम गर्दै आएका थिए ।

प्रतिक्रिया