भक्तपुरमा चक्कु प्रहार गरी साथीको हत्या

admin

भक्तपुर : साथीसाथीबीच विवाद हुँदा गरिएको चक्कु प्रहारबाट भक्तपुरमा एक युवकको ज्यान गएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार साँझ साथीहरुबीच विवाद हुँदा चक्कु प्रहारबाट भक्तपुर नगरपालिका ६ भोलाछेंका १५ वर्षीय रोहन सुवालको ज्यान गएको हो।

सुवाललाई चक्कु प्रहार गर्ने उनकै साथी १५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
चक्कु प्रहारबाट घाइते भएका सुवाललाई उपचारको लागि तत्काल भक्तपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक प्रधानले बताए। सुवालको छाती र पेटमाथि गरी दुई ठाउँमा चक्कु प्रहार गरिएको भेटिएको उनले बताए।

साथीलाई चक्कु प्रहार गरी भागेर लुकेर बसेका सुवालका साथीलाई प्रहरीले बुधबार नै भक्तपुर नपा १ सिद्धपोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। प्रहरीले उनीसँगै लुकेर बसेका अर्का १६ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार नियन्त्रणमा लिएका युवकको बयानबाट सुवाललाई प्रहार गरिएको चक्कु भक्तपुर नपा २ कालोपाटी क्षेत्रबाट बरामद गरिएको छ। चक्कु प्रहार गर्ने युकवले आफूलाई सुवालले सधैंजसो होच्याउने र कुटपिट गर्ने गरेकाले त्यसको बदला लिन चक्कु प्रहार गरेको बयान दिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। ‘उनीहरुको ६ जनाको समूह रहेको देखियो। समूहमै रहँदा विवाद भएपछि चक्कु प्रहार भएको देखिएको छ’, उनले भने।

सुवाललाई चक्कु प्रहार गर्ने युवक र उनीसँगै पक्राउ परेका अर्का युवक महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रतिक्रिया