भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालन गर्न माग

राष्ट्रिय समाचार समिति

भक्तपुर, १४ जेठ : कोरोना परीक्षण गराउनेको सङ्ख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका छन् ।

सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्नेको सङ्ख्या बढ्दै गएकाले पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका हुन् ।

भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड अस्पतालका रुपमा घोषणा गरे पनि पिसिआर ल्याब नहुँदा यहाँ सङ्कलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको छ । टेकुस्थित उक्त ल्याबमा कोभिड–१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणमा पठाएको एकसातामा मात्रै रिपोर्ट आउँदा झन जोखिम भएको जिल्लाका सरकारी अस्पतालको भनाइ छ ।

भक्तपुर अस्पतालमा पिसिआर ल्याब नहुँदा सँगैको मिर्गौलाको उपचार एवं प्रत्यारोपण गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल नियमित सञ्चालन भइरहेकाले यहाँ आएका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीको कोरोना भाइरस परीक्षण गर्न समस्या भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीले केन्द्रमा नियमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिरहेको बताउँदै शङ्कास्पद बिरामीमा कोरोना सङ्क्रमण भए÷नभएको परीक्षण गर्न पिसिआर ल्याब सञ्चालन अत्यावश्यक रहेको बताउनुभयो ।

“लकडाउनपछि पनि यस केन्द्रमा मिर्गौलाका बिरामीको नियमित डायलाइसिसलगायत सेवा सञ्चालन गरिरहेका छौँ”, केन्द्रका कार्यकारी निर्देशक प्रा डा ज्ञवालीले भन्नुभयो, “शङ्कास्पद बिरामीको तत्काल पिसिआर परीक्षण गर्नुपर्ने अवस्था आए समस्या छ, त्यसैले भक्तपुरमा कोरोना परीक्षणका लागि पिसिआर ल्याब अत्यावश्यक छ ।”भक्तपुर अस्पतालमा ल्याब सञ्चालन गर्नुपर्नेबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग पनि छलफल चलाएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा पिसिआर ल्याब नहुँदा क्यान्सरका बिरामीको उपचारमा समस्या परेको भक्तपुर क्यान्सर अस्पतालका प्रशासक राजाराम तजलेले बताउनुभयोे । लकडाउनमा अस्पतालले सेवा नरोकेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पिसिआर परीक्षणको दायरा फराकिलो र सहज बनाउन जिल्लामै पिसिआर परीक्षण हुनुपर्ने बताउनुभयो ।

लकडाउनपछि भरतपुर क्यान्सर अस्पतालले बिरामीको उपचार नै नगरी भक्तपुर अस्पतालमा सिफारिस गरी पठाउने गर्दा दाङ, मकवानपुर, बारा, पर्सा, सर्लाही, सिराहा, सुनसरी, चितवनलगायत जिल्लाबाट बिरामी आउँदा कोरोनाको जोखिम बढेको उहाँको भनाइ छ ।

“अस्पतालको ओपिडीमा दैनिक १०० बढी बिरामी आइरहेका छन्, जोखिम क्षेत्रबाट आएका बिरामीको आरडिटी परीक्षण नगराई उपचार गराउने अवस्था छैन”, अस्पतालका प्रशासक तजलेले भन्नुभयो, “क्यान्सरको कुनै पनि शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्ने गरेका छौँ तर टेकुबाट यसको रिपोर्ट आउन एक साता लाग्छ, यसले उपचारमै समस्या ल्याएको छ, त्यसैले भक्तपुरमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन अत्यावश्यक छ ।”

उहाँले सङ्घीय वा प्रदेश सरकारले भक्तपुर अस्पतालको पूर्वाधार थप्ने र कोरोना परीक्षणमा ल्याब सञ्चालनमा ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालमा अहिलेसम्म ७८६ जनाको आरडिटी र ६२७ जनाको पिसिआर गरी कूल एक हजार ४१३ को कोरोना परीक्षण गरेको जानकारी दिनु्भयो । जसमध्ये ८१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

विदेशबाट फर्किएका र पछिल्लो समयमा भक्तपुरमा देखिएका सङ्क्रमणका कारण स्थानीय बासिन्दा, कोठा भाडामा बस्ने र टेकुको ल्याबमा भीड भयो भन्दै काठमाडौँबाट समेत स्वाब सङ्कलनका लागि भक्तपुर अस्पताल आउने क्रम बढ्दै छ । अस्पतालमा यही १० गतेदेखि आरडिटी किट सकिएपछि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन मात्रै गरिँदै आएको छ । सुपरिटेन्डेण्ट डा गौतमले भन्नुभयो, “भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनका लागि वाग्मती प्रदेश सरकारसँग प्रस्ताव राखेका छौँ, सगै रहेको प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालका लागि अत्यावश्यक छ ।”

अस्पतालमा स्वाब सङ्कलन गर्नेको सङ्ख्या बढ्दै गएको, आगामी दिनमा सरकारले विदेशबाट उद्धार गरी ल्याएर भक्तपुरको क्वारेन्टिनमा राख्नेको पनि स्वाब सङ्कलन गर्नुपर्ने, टेकु पठाउँदा नतिजा आउन धेरै दिन लाग्ने र भक्तपुर अस्पतालमा पिसिआर मेशिन सञ्चालन गर्न पाए वाग्मती प्रदेशका अन्य जिल्लाको पनि कोरोना परीक्षणमा सहज हुने उहाँको भनाइ छ । कोरोनाको बिरामीको मात्रै उपचार गर्ने गरी छुट्टै ब्लकको निर्माण भइसकेको, जनशक्ति तयारी अवस्थामा रहेको बताउँदै उहाँले अस्पतालमै पिसिआर सञ्चालनमा ल्याउन सके धेरैलाई सहज हुने र राष्ट्रिय प्रयोगशालामा पनि भीड कम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया