भक्तपुर हत्याकाण्डः कृषि विकास बैंक र ससुरालीको २५ लाख ऋण, छोराको +२ पढ्ने चाहना अधुरै

तुलसी नेपाल

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा सामूहिक हत्याकाण्ड परिवारका सदस्यले गराएको खुलेको छ । श्रीमती छोरासहित बस्दै आएका श्रीमानले नै हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको हो ।

गत शुक्रबार आफ्नै निवासमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

३६ वर्षीय सुदीपले घर व्यवहारका कारण छोरा र श्रीमतीको निर्मम हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले सुतेकै अवस्थामा छोरा र श्रीमतको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट छोरा र श्रीमतीको शव कुहिएको र किरा परेको अवस्थामा फेला पारेको थियो । भने सुदीपको शव ताजै थियो । उनले केही दिन अगाडि श्रीमती र छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए ।

छोराको टाउकोमा धारिलो हतियारको चार वटा चोट छ भने घाँटी पनि रेटिएको छ । त्यस्तै श्रीमतीको टाउकोमा पनि धारिलो हतियारको तीन वटा चोट छ ।

‘लाससँगै धारिलो हतियार पनि भेटिएको छ । उसको (सुदीप) मा चोटपटक केही छैन् । सेलफोस भन्ने मुसा मार्ने विषको खाली बट्टा भेटियो’, एसएसपी थापाले भने ।

सुदीपले उक्त विष सेवन गरेका थिए । उक्त विष कचौरामा घोलेर लेदो बनाएको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले अन्य सवुदलाई पनि विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको छ ।

सुदीपले घर व्यवहार बिग्रीएपछि परिवार नै सखाप पारेर आफूले पनि आत्महत्या गरेका थिए । उनले बैंक र ससुरालीबाट ऋण लिएको देखिएको एसएसपी थापाले जानकारी दिए । उनले कृषि विकास बैंकबाट २३ लाख र ससुरालीको दुई लाख ऋण लिएका थिए ।

घरमै सानो किराना पसल चलाउँदै आएका सुदीपले बैंकको ऋण तिर्ने बाटो नभएपछि घरमा सँधै झै झगडा हुने गरेको थियो । उनको घर कृषि विकास बैंकमा रहेको छ । त्यस्तै उनका छोराले एसईई परीक्षामा राम्रो अंक ल्याएर पास भएका थिए । उनले प्लस टु मा राम्रो विषय लिएर पढ्ने सोच बनाएका थिए ।

घरमा तीन जना मात्रै रहेको र बाहिरी मान्छेको आगमन नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एसएसपी थापाले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले कसरी थाहा पायो ?

मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया