‘भड्किलो विलासीजीवन भ्रष्टाचार नियन्त्रणमा चुनौती’

राष्ट्रिय समाचार समिति

महोत्तरी, २३ मङ्सिर: प्रदेश नं २ का प्रमुख तिलक परियारले समाजमा देखिने भड्किलो र विलासी जीवन भ्रष्टाचार निर्मूल अभियानका लागि चुनौती भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित ‘भ्रष्टाचारविरुद्धको ऐक्यबद्धता’ कार्यक्रममा उहाँले भ्रष्टाचार बढ्नुमा भड्किलो आडम्बर र रवाफको देखासिकी बढ्दै जानु मुख्य कारण बनेको बताउनुभएको हो ।

विलासिता र रवाफिलो जीवनका लागि जसरी पनि पैसा चाहिन्छ भन्ने प्रवृति बढ्दै जाँदा मुलुकमा भ्रष्टाचारले भयावह रुप लिएको परियारको भनाइ छ । “भ्रष्टाचार सुन्दर भविष्य निर्माणको बाधक हो”, उहाँले भन्नुभयो, “नैतिक मूल्यमान्यतामा हस बढेसँगै भ्रष्टाचारले मौलिने अवसर पाएको छ ।” भ्रष्टाचारविरुद्ध अब सैद्धान्तिक सामाजिक, राजनीतिक र प्रशासनिकसहितका सबैक्षेत्रबाट घृणा गरिनसँगै निर्मम कानूनी कारवाही गरिनुपर्ने परियारले बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भ्रष्टाचार समाज र मुलुककै क्यान्सर भएको उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि कानून अपुग भएको नभइ कानून तोडेर हिँड्ने प्रवृति झ््याङिएको उहाँको ठहर छ । सरसर्ति हेर्दा सम्पतीको धाक, रवाफ देखाउनेले सामाजिक मर्यादा पाएको स्थितिले भ्रष्टाचारले सामाजिक मान्यता नै पाएको देखिने गरेको उहाँले बताउनुभयो । आपूm नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सुशासन विधेयक नै ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

भौतिकपूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल र प्रदेश सरकारका मुख्य सचिव रामकृष्ण सुवेदीले भ्रष्टाचारविरुद्ध बोली र भाषण भन्दा व्यवहार महत्वको विषय भएको औंल्याउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायसहित राज्यमन्त्रीको उपस्थिति थियो ।

प्रदेशका पर्साबाहेक सात जिल्ला र उदयपुर एवं सिन्धुली कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यक्षेत्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सेवाप्रदायक सरकारी कार्यालयका प्रमुख एवं भ्रष्टाचारविरुद्ध निगरानी समितिका पदाधिकारीले संयुक्तरुपमा भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प गरेका छन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले कार्यालयको कार्यक्षेत्रका जिल्लाबाट चालु आर्थिक वर्षको गतसाउनदेखि कात्तिक मसान्तसम्म एक हजार ३०० उजूरी परेका जानकारी दिनुभयो । तीमध्ये सबैभन्दा बढी धनुषाबाट ४१९ रहेका सापकोटाको भनाइ छ । आयोगले गत आर्थिक वर्ष २०७५÷७६ का दुई हजार ७० उजूरीमा छानबिन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया