भत्कियो ६ दशकको ‘लालकिल्ला’

admin

काठमाडौं, १७ मंसिर: विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा उपनिर्वाचन सम्पन्न भएको छ । त्यसको परिणाम पनि सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ । कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे ।

कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए । ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए ।

२०१५ सालमा भएको संसदीय र स्थानीय निर्वाचनमा देशैभरी कांग्रेस उम्मेदवार विजयी भएको थियो । संसद्मा दुई तिहाइ र स्थानीय तहमा समेत कांग्रेसकै उम्मेदवार विजयी भएको थियो । तर, त्यस्तो बेलामा समेत धरानमा वामपन्थी उम्मेदवार केदारप्रसाद खनाल निर्वाचित भएका थिए । २०४६ सालको जनआन्दोलन र २०४८ सालमा भएको निर्वाचनमा मात्रै नभई त्यसयताको सबै निर्वाचनमा धरानमा वामपन्थी उम्मेदवार नै विजयी हुँदै आएका थिए ।

वामपन्थीको प्रभाव रहेकै कारण सुनसरी १ बाट पार्टी अध्यक्षसमेत रहेका नेता मनमोहन अधिकारीले चुनाव जितेका थिए । गृहनगर विराटनगर भए पनि वामपन्थी प्रभावकै कारण अधिकारले यो क्षेत्र रोजेका थिए । सो क्षेत्रबाट वामपन्थी बाहेकका अन्य उम्मेदवार कहिल्यै नजितेको नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले बताए ।

६ दशकको लामो वामपन्थी विरासत कांग्रेसले भत्काएपछि अहिले नेकपामा आन्तरिक समीक्षा हुनुपर्ने भन्दै आरोपप्रत्यारोप सुरु भएको छ । नेकपा प्रदेश १ का सदस्य तथा सांसद रेवतीरमण भण्डारीले पार्टी एकीकरणपश्चात् नेताकार्यकर्ताको उचित व्यवस्थापन नभएको, नेतृत्वको दम्भ तथा अहंकारले ६० वर्षदेखिको ‘लालकिल्ला’ भत्किएको बताए ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएपछि जित्ने भनेर ढुक्क भएका नेताहरूले मतपरिणाम देखेर आत्मसमीक्षामा लागेका छन् । नेकपा धरान नगरकमिटीका अध्यक्ष नारायण सुवेदीले कम्युनिस्टको बलियो भूमिमा पराजित हुनुले पार्टीलाई ठूलो धक्का लागेको बताए ।

धरानबाट नेकपा उम्मेदवार हार्नुको अर्को कारण पार्टी एकतापछि तल्लो तहसम्म नेताको उचित व्यवस्थापन हुन नसकेको बताइन्छ । जित्ने सुनिश्चित हँुदाहँुदै आन्तरिक गुटबन्दी र असन्तुष्टिले धरान गुमाउँनुपरेको नेताहरू स्वीकार गर्छन् ।

नेकपा प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटीका सदस्य भिम आचार्यले पार्टीले गम्भीर समीक्षा गर्ने बताए । धरान कम्युनिस्टको बलियो आधार क्षेत्र भएको र यो ठाउँमा पार्टीले पराजय भोगेपछि पार्टीको बैठकमा यस विषयमा समीक्षा हुने उनले बताए ।

उम्मेदवारको चयन, कर बढी उठाएको, सुकुम्बासी समस्या समाधान गर्न नसकेको लगायतका अन्य कारणले समेत नेकपा पराजित हुनुपरेको जानकारहरू बताउँछन् । पार्टी एकीकरण भए पनि सांगठनिक एकता समयमै टुंगो लाग्न नसक्दा धरान गुमाउनुपरेको छ ।

उता भक्तपुरको प्रदेश सभा सदस्य र भरतपुरको वडा अध्यक्षको निर्वाचनमा नेकपाले पराजय भोग्नुको कारण खोजी भइरहेको छ । नेकपाको बर्चस्व रहेको भक्तपुर र भरतपुरमा नेकपा उम्मेदवार पराजय भएपछि आरोपप्रत्यारोप सुरु भएको छ ।

चितवन नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र रेणु दाहाल (पुष्पकमल दाहालको छोरी) मेयर भएको ठाउँ हो । भक्तपुर कम्युनिस्ट जित्दै आएको क्षेत्र हो । तर, कम्युनिस्ट उम्मेदवार पराजित भएपछि त्यसको बढी चर्चाका साथै नेतृत्वमाथि आक्रोश पोख्ने काम भइरहेको छ ।

पार्टी एकता समयमै टुंगो नलागेको, उम्मेदवार चयन ठिक तरिकाले नभएको, पार्टी नेतृत्वको दम्भ, अहंकार, मनपरीकै कारण नेकपा उम्मेदवार पराजित भएको भन्दै समाजिक सञ्जालदेखि चियापसलसम्म चर्चा भइरहेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया