भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द

शर्मिला गुरुङ

काठमाडौँ, २० भदौ : झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो ।

गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्कामा लिएको उहाँको भनाइ छ । आगामी १५ दिनसम्म तोकिएको समयमा विमानस्थल बन्द हुनेछ । धावनमार्गको मर्मत कार्य शुरु भएसँगै एयरलाइन्स कम्पनीले नियमित उडानको समय तालिका परिवर्तन गरिसकेका प्रमुख चुँडालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया