भरिन लाग्यो सिसडोल, उपत्यकाको फोहोर चुनौतीपूर्ण

admin

काठमाडौं, पुस १५ : नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो । दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ ।


काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भने, “एकातिर सिसडोलको क्षमता नै भरियो, अर्कातिर स्थानीयवासीका गुनासा र अवरोधबीच अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ’’ काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ वटा नगरको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ ।

गएको मङ्सिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै फोहोर कोच्याइएको छ । सिसडोलदेखि बन्चरे डाँडासम्मको १.९ किलोमिटर सडक निर्माणको काम सडक विभागले अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइट निर्माणको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया