भलाम खोलामा पक्की पुल

कृष्ण रोकाया

पोखरा, २३ मङसिर : पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ ।

नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार नवनिर्मित पुलको उद्घाटन गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो ।

प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत पोखरा ११ देखि २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाँडागाउँ हुँदै वडा नं १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माण गरिने बताउँदै उहाँले उक्त योजना सम्पन्न गर्न स्थानीय वासिन्दाको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सडक पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै विकास निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले पुल निर्माणसँगै पोखराको भलामदेखि मौजासम्म उत्पादित कृषि उपज बजारीकरणमा सहयोग पुग्नुका साथै त्यस क्षेत्रका कृषकको समृद्धिमा सहयोगी बन्ने बताउनुभयो ।

पुलबाट पोखरा ११ को फूलबारी मणिपाल, भलाम मौजा र बाटुलेचौरसम्मका स्थानीय वासिन्दा लाभान्वित हुने पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिनुभयो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्री, वडा सदस्य भीमप्रसाद बास्तोला, जिल्ला समन्वय समिति कास्कीका जिल्ला प्राविधिक इञ्जिनीयर नारायण बराल र नेकपा कार्यदल कास्कीका सदस्य सुशील बस्नेतले सडकको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सहकारीद्वारा कृषक सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेह्रौ वार्षिक साधारणसभाको अवसरमा कृषि कार्यमा लागि उत्कृष्ट बन्न सफल चार कृषकलाई सम्मान गरिएको छ । उद्यामशीलताका माध्यमबाट व्यावसायिक कृषिको प्रयोग गर्दै समाजमा उदाहरणीय बन्न सफल पोखरा महानगरपालिका–२१ का नवराज सुवेदी, उदयराज पोखरेल, यमप्रसाद गौतम र गङ्गामाया भण्डारीलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मानित चारै जना सहकारीमार्पmत कृषि ऋण लिई पशुपालन, व्यावसायिक तरकारी तथा फूलखेती गरी मनग्य आम्दानी गर्दै समाजमा अनुकरणीय बन्नुभएको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ट सञ्चालक सम्मानबाट झलकबहादुर थापालाई नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कृषकलाई सम्मान गर्दै पोखरा–२१ वडाध्यक्ष खगराज आचार्यले व्यावसायिक कृषिका क्षेत्रमा लाग्ने जो कोहीलाई वडाका तर्पmबाट सक्दो सहयोग गर्ने बताउनुभयो । कृषिमा परम्परागत शैली त्याग्दै आधुनिक विधि र प्रविधि अपनाउनु पर्नेमा जोड दिँदै उहाँले वडाले खानेपानी योजनालाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।

२०६२ सालमा स्थापना भई सञ्चालनमा आएको सो सहकारीका कूल एक हजार ६३ शेयर सदस्यमध्ये ७१ प्रतिशत महिला छन् । रासस

प्रतिक्रिया