भाइरल भिम बिक यस्तो अवस्थामा, सहयोग लिएर देवघाटमै पुगिन पत्रकार (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर, भक्तपुर : बदलिंदो समयमा सामाजिक सञ्जाल एक प्रभावकारी संचार माध्यम बन्न पुगेको छ। जहाँ जुनसुकै कुराहरुले यति महत्व पाउँछन् कि क्षणभरमै हजारौं लाखौं शेयर हुन्छन् र त्यसप्रति प्रतिक्रियाहरु व्यक्त गरिन्छन्। त्यस्तै बनेको छ हालै सामाजिक संजालमा भिम बिक। उनको पुरा नाम भिम बहादुर बिक हो।

नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन्। देवघाटकै झोलुङ्गे पुलको नजिकै बसेर उनी देवघाट आउने तिर्थालु, पर्यटक साथै स्थानीय घुमन्तेसँग मागेर आफु र आफ्नो परिवारको जिविकोपार्जन गर्दै आएका छन्।

भिमको भिडियो एकाएक भाइरल भएपछि उनको भिडियो खिच्न भनेर धेरै युट्युब च्यानलका युट्युबर लगायत पत्रकारहरु उनलाई भेट्न समेत पुगे। साच्चै नै एक पछि अर्को गर्दै उनको भिडियो सामाजिक संजालमा यत्रतत्र छाउन थाल्यो। यतिसम्म कि उनको कमेडी खालको भिडियो टिकटकमा समेत लाखौले क्यारिकेचर गरेर पोस्ट गरेका छन्। अहिले भिमलाई नचिन्ने सायदै कोहि नहोला।

उनको भिडियो यसरि नै दिनानुदिन झन् झन भाइरल हुँदै गयो। तर उनले आफ्नो व्यक्तिगत जीवनमा के पाए त ? उनको जीवन उकास्न कसकसले सहयोग गर्यो त? यसै सन्दर्भमा हामीले ‘आखिर भाइरल भिमले के पाए त ?’ भन्ने शिर्षक राखेर एउटा भिडियो बनाएका थियौ। त्यो भिडियो अहिले पचास हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् भने १५० भन्दा बढीले कमेन्ट गरेका छन्।

कमेन्टमा थुप्रैले आफ्नो विचार राख्ने क्रममा कतिले सहमति जनाएका छन् त कतिले असहमति जनाएका छन्। धेरैले सबैले सहयोग गरेको भए सायद आज भिम बिकको घर बन्ने थियो भनेर समेत आफ्नो तर्क राखेका छन्। कतिले उनलाई व्यक्तिगत भेटेर सहयोग गर्न चाहेको समेत लेखेका छन्। हुन त उनलाई भेट्न देख्न नचाहाने को नै होला र ?

उनको हरेक भिडियो हेरी रहने पिएनपीखबरकर्मी शर्मिला गुरुङ समेत उनलाई भेट्ने इच्क्षा गरिरहेकी थिइन्। उनको चन्चले स्वभाव, नादानिपन र उनको मिलनसार स्वभाबको कारणले गर्दा उनी जोकोहीको पनि प्यारो छन्। उनलाई वरपरका सबैले मायाले कान्छा भनेर बोलाउछन्।

उनै ‘कान्छा’ भिमलाई भेट्न पिएनपीखबरकर्मी शर्मिला गुरुङ उत्सुकतासहित देवघाट पुगिन्। काठमाडौँ देखि देवघाट सम्मको यात्रा पछि उनले भीमलाई देखिन्। सदाको झैँ उनी पुल नजिकै बसिरहेका थिए। कुप्रो परेर बस्दा आफ्नो खुट्टा लुकाउन मिल्ने खालको ह्वार्लंग परेको स्वेटर, मैलो खालको टोपी र ट्राउजर लगाएर बसेको दृश्य एकदम दयनीय थियो। उनको खुट्टामा चप्पल अझै थिएन। सहकर्मी शर्मिला गुरुङ उनी नजिक गएर म काठमाडौँ देखि तपाइलाई भेट्न आएको भन्दा उनी फुरुंग परे। जति फुरुंग उनी देखिन्थे त्यति नै फुरुंग हाम्री सहकर्मी साथी पनि उनलाई भेट्न पाएकोमा थिइन्।

५० वर्ष भए पनि भिमको नादानीपन अझै बच्चाको जस्तो छ। जो कोहिसँग पनि लुट्पुटिने उनको बानीले नै होला सायद उनी सबैको प्यारो बन्न पुगेका। भिम कै भिडियो हेरेर उनलाई भेट्ने इच्क्षा गर्दै यसपाली हामीसँग हाम्रै सहकर्मी पनि साथ गएकी थिइन्। सकेको आर्थिक सहयोग सँगै भिम सँगको भलाकुसारी गर्न पुगेकी हाम्रै सहकर्मी शर्मिला गुरुङलाई देख्ने बित्तिकै भिम बर्षौ पछि भेट भएको आमासँग छोरा टासिए झैँ टासीए। ग्वर्लम्म अंगालो हाल्दै उनी काखमा समेत बस्न भ्याए।

सबैले कान्छा भनेको सुनेर उनले पनि भीमलाई कान्छा भनेर बोलाइन् तर उनले चन्चले पारामा मलाई बाबु भन्नुस न भने। उनले दिनभरी देवघाट बजार घुमाए। दिन भरि गफ गरेर उनी साझ आर्थिक सहयोग सहित फेरी भेट्ने बाचाको साथ छुट्टीईन्। उनले दुइ हजार एक सय पन्ध्र रुपैया भीमलाई हस्तान्तरण गर्दै उनले सहयोगी हात अघि बढाइन।

यो उनले गरेको सहयोग ठुलो सहयोग होइन। यति रकम त उनले दिन भरि देवघाटमा बसेर नै कमाउचछन्। तर यो आर्थिक सहयोग अरुको लागि प्रेरणा होस् भनेर गरिएको उनले बताइन्। साथै यो सहयोगको शुरुवात पनि हो। एक थुकी सुकी सय थुकी नदि भने झैँ सबैले थोरै थोरै सहयोग गर्यो भने भीमको जीवनमा केहि राहत मिल्ने थियो।

थोरै समयमा उनले भिमसँग धेरै त होइन तर उनको जीवनको मुख्य कुराहरु भने जान्ने मौका पाएकोमा उनी खुसि भएको बताउछिन्। तर उनीसँग मन भरिको कुरा अझै साट्न मन थियो। अधुरो इच्छा सहित काठमाडौँ फर्किएकि उनी समय मिलेपछि पुन उनलाई भेट्न जाने उनको रहर छ।

उनले त आफुले सकेको सहयोग गरिन् अब पालो तपाइको। तपाईले पनि सकेको जति सहयोग गरेर उनको जीवन सहज बनाइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू