भाइरस भन्दा बढी त्रास फैलियो, घर भित्रै रमाइलो गर्दै आमनागरिक

अस्मिता बेल्बासे

काठमाडौं, ११ चैत : विश्वव्यापी सङ्क्रमित भइरहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् ।

 

मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बसेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

चीनको हुवान प्रान्तबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए ।

नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए । यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौँ र बचाऔँ’ को उद्घोषसहित डा. बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्को गीति भिडियो प्रस्तुत गरेको छ ।

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृङ्खलाहरु यही अभियानमा सामेल भएका छन् । नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लव’ ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ ।

चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावटबारे प्रस्तुति दिन थालिएको छ । ‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ ।

सचेतनाका लागि नागरिकहरुले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन् । यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानूनी काराबाहीको प्रक्रिया पनि अघि बढेको छ ।

प्रतिक्रिया