भाजपा नेताले भनेः भारतको रोजाईमा ओली छन्, प्रचण्ड आए चीनले जित्नेछ

admin

भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले केपी ओली नै भारतको रोजाईका प्रधानमन्त्री भएको बताएका छन् । उनले ट्वीट गर्दै भारतको रोजाईमा ओली नै रहेको र प्रचण्ड सत्तामा आएमा चीनले जित्ने दावी गरेका हुन् ।

‘मेरो जानकारी अनुसार भारतको रोजाईमा ओली थिए, प्रचण्ड आएमा चीनले जित्नेछ’, भाजपा नेता सुब्रमन्यमले लेखेका छन् । प्रधानमन्त्री ओलीको सत्ता ढालेर काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भैरहेका बेला भारतीय सत्तारुढ पार्टीका नेताको धारणा सार्वजनिक भएको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गरेको भोलिपल्ट भाजपा नेताले यस्तो सनसनीपूर्ण टिप्पणी गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको सरकार बनाउनको लागि गृहकार्यमा जुटेका छन् । तर, जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार निर्माणको लागि आफूहरु तयार नभएको भन्दै त्यसको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया